Tuesday, September 28, 2010

हवल्दारको ड्युटी यस्तो पनि छ

विराटनगर ११ असोज÷ अपराध नियन्त्रण र जनताको शान्ति सुरक्षामा खटिएका विराटनगरका एक प्रहरी हवल्दारको थप ड्युटी समेत रहेको छ ।
इलाका प्रहरी कार्यालय विराटनगर रानीका प्रहरी हवल्दार प्रेमकुमार विष्टको प्रहरीको ड्युटी त छदैछ थप सर्पको आतंकबाट समेत गाउँलेहरुलाई छुटकरा दिउने ड्युटी समेत छ ।
वरिपरिका सयौं घर परिवारलाई सर्पको आतंकबाट सुरक्षा दिइरहेका विष्टलाई कसैले खटाएको ड्युटी भने त्यो हैन । सजिलै सर्प समात्न सक्ने कला भएको कारण उहाँले अकालमा ज्यान लिने सर्प समाएर गाउँलेहरुको सुरक्षा कबचको रुपमा काम गर्दै आउनु भएको छ ।
रानी क्षेत्रका हिजोआज कसैको घरमा सर्प देखियो भने हवल्दार बिष्टलाई बोलाउने गरिएको छ । १७ वर्षदेखि प्रहरीको जागिरे विष्टले गएको ६ महिनाको अबधीमा मात्र करिव ३ सय विभिन्न प्रजातीका सर्पहरु समातिसक्नु भएको छ । केही दिनअघि विराटनगर १६ रानीका अजव शाहीको घरमा विशालु करेत सर्प पसेपछि शाहीले बिहानभर खनेर सर्प निकाल्नु भयो ।
सानो जातको भएपनि निकै छिप्पिएको करेत सर्प समातेपछि शाही परिवार र स्थानीयवासीले सुरक्षाको अनुभुति गरेका छन् । बिष्टले समातेको सर्प पाँच इन्च मोटाई र करिव एक मिटर लम्वाईको थियो ।
गत साउनमा मोरङको केरावारीमा सयौं गोमन सर्प मारेको खवर सुनेपछि बिष्ट र न्यौपाने त्यहाँ पुगेर सर्प नमार्न आग्रह गर्दै समातेर जंगलमा छोड्नु भएको थियो । उहाँले बिराटनगर १६ १७ १८ र १९ नम्वर वार्डका अधिकांश घरमा भेटिएको सर्प समातेको र प्रहरी तालिम केन्द्र भित्र भेटिएको सर्प पनि समातेर जंगलमा लगेर छोडेको जानकारी दिनुभयो ।
विगतमा सर्प समातेर मार्ने गरेकोमा बिष्टले प्रहरी सेवामा प्रवेश गरेपछि सर्प मार्न भने छोडेको बताउनु भयो । वातावरण सन्तुलनमा सर्पको महत्व बुझेपछि मार्न छोडेंको बरु समातेपछि जंगलमा लगेर छोडिदिने उहाँले जानकारी दिनुभयो । दमकको रेडक्रसमा सर्प संरक्षण हुने जानकारी पाएपछि भने उहाँले समातेका सर्प त्यही लगिदिने गरेको बताउनु भयो ।
विष्टले अहिलेसम्म १५ सयभन्दा बढी गोमन ३ सय जति करेत र ५० जति धामन जातको सर्प समातेको बताउनु भयो । ७ वर्षको उमेरदेखि सर्प समात्न थालेको बताउँदै हवल्दार बिष्ट बिष्ट डिउटी गएको बेला भने उहाँको सहयोगी बाबुराम न्यौपानेले सर्प समातिदिने गर्नुभएको छ ।
सर्प समात्न कुनै उपकरणको सहायता नलिई विष्टले सिधै टाउकोमा समात्ने गर्नुभएको छ । सर्पले मान्छेलाई पहिले अक्रमण नगर्ने र उसको शरिरमा चोट दिएमात्र उ रिसाउने भएकोले फकाएर समात्न सकिएको उहाँले बताउनु भयो ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु