- केशव नेपाल
चकमन्न मध्यरातमा
ढोकामा ड्याङ ड्याङ गर्दै गर्दा
म झल्याँस्स ब्युझिएँ
मेरी छोरी मस्त निदाइरहेकी थिई
बुटका आवाजहरु आइरहे
आँखी झ्यालबाट चिहाएर हेर्दा
घर त घेरिएको पो देंखे
कालङ कुलुङ आवाज आइरह्यो
बुटको बलमा ढोकामा फोरिदिए
एक हुल शाही सेना
मेरो ओछ्यान सामु उभिएको देंखे
एउटाले भन्दै थियो
ँआतंककारी पाल्ने बुढी
यही हो आतंककारी लुक्ने घर यै हो
आतंककारी बुढी यै हो
आतंककारी छोरी त्यै हो
अर्काले भन्दै थियो
आँखामा कालो पट्टी लगाइदे
हात पछाडी लगी बाँधी दे
अनि निकाल आतंककारीलाई
घर बाहिर
मेरी छोरीलाई
लछार्दै र पछार्दै
अनि कुट्दै र पिट्दै
संगीनले घोच्दै
बन्दुकको कुन्दाले हिर्काउँदै
घिसार्दै घिसार्दै
घर बाहिर निकाले
छोरी आमा भन्दै चिच्याउँदै थिई
राक्षसहरु उसलाई घिसार्दै थिए
मलाई चाहि डिलबाट लडाइदिए
मैले सुनुन्जेल
उसले आमा भन्दै थिई
मलाई बचाऊ भन्दै थिई
राक्षसहरु उसको मुख थुन्दै थिए
त्यसपछि मैले
मेरी छोरीको त्यो मधुर आवाज
कहिल्यै सुन्न पाइन
मेरी छोरीको सुन्दर अनुहार
मैले कहिल्यै देख्न पाइन
बेपत्ता छ न उसको लास छ
न उसको सास छ
म सेनाको गुल्म
र व्यारेकहरुमा पुगिन कि
म प्रहरी थाना
र चौकीहरुमा पुगिन कि
म अदालतहरुको ढोकाहरुमा पुगिन कि
म मानवअधिकारवादीहरु कहाँ पुगिन कि
जहाँ कहीं पुगेको
मैले मेरी छोरी कहाँ छे भनेर
निरन्तर निरन्तर सोधिरहें
निरन्तर निरन्तर खोजीरहें
तर अरु हजारौं वेपत्ताहरु जस्तै
मेरी छोरी कहीँ कतै भेटीन
मेरी छोरी कही कतै देखिन
मैले निरन्तर सोधिरहे
मेरी छोरी खोइ
जल्लादहरु हामीलाई नढाँट
दिउँसै रात नपार तिमीहरुले
मेरो काखबाट लुछेर लगेको
मैरै आँखाले देखेको छु
मेरी निर्दोष छोरी घिसार्दै लगेको
हे मानव शिकारीहरु हो !
सासक प्रशासकहरु हो
कुन मानववधशालामा लगेऊ
म सोधीरहेको छु मेरी छोरी खोई
कहाँ बेपत्ता बनाएका छौ
कि मेरी छोरीको लास लेऊ
कि मेरी छोरीको सास लेऊ ।
No comments:
Post a Comment