Sunday, January 30, 2011

बजेट विनियोजनपछि किसानहरुमा उत्साह

                                          बुद्धवीर राई
इलाम अलैंचीको निरोगी नयाँ विरुवा उत्पादनको लागि सरकारले अतिरिक्त बजेट विनियोजन गरेपछि पूर्वी पहाडका अलैची किसानहरु उत्साहित भएका छन् ।
विभिन्न रोगका कारण मासिदै गएको अलैैचीको खया विरुवा उत्पादन गर्न उद्योग तथा वणिज्य मन्त्रालयले बजेट विनियोजन गर्दै चासो देखाएपछि किसानहरुमा उत्साह छाएको हो ।
मन्त्रालयले यस पटकको बजेटबाट नयाँ विरुवा उत्पादनको लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ । विगतका वर्षहरुमा नियमित शिर्षकमा बजेट आउने गरेपनि यस वर्षको बजेटमा निरोगी नयाँ विरुवा उत्पादनको लागि समेत बजेट विनियोजन गरिएको हो ।
अघिल्लो बर्षहरुमा अलैंची विस्तारका लागि मात्र रकम विनियोजन हुने गरेको इलामको फिक्कल स्थित अलैंची विकास केन्द्रका वरिष्ठ अलैंची विकास अधिकृत पदमप्रसाद अधिकारीले जानकारी दिनुभयो । अहिले विरुवा उत्पादनको लागि समेत रकम विनियोजन हुनु किसानहरुको लागि खुसीको कुरा भएको उहाँको भनाई छ ।
अलैंची विस्तारमा यो रकम थोरै भएपनि सुरुवात राम्रै भएको जोगमाई गाविसका किसान जीवन राईले बताउनु भयो । नयाँ निरोगि विरुवा उत्पादनपछि पहिलेकै जस्तो बगान विस्तार गरी अलैची उत्पादन हुने किसानहरुको अपेक्षा छ ।
बजेट आएपछि अलैंचीको विउबाट उत्पादित विजु विरुवा उत्पादनको काम सुरु गरिएको अलैची विकास केन्द्रले जनाएको छ । विरुवा उत्पादन गर्न २ वर्ष ८ महिना लाग्ने बताइएको छ ।
अलैंची विस्तार र अध्यानको लागि कार्यालयबाट पाँचथर र ताप्लेजुङ्ग जिल्लामा कर्मचारी समेत खटिसकेको केन्द्रले जानकारी दिएको छ । नयाँ विरुवाको आछाम गोर्खा कैलाली पाल्पा लम्जुङ्ग कास्कि जिल्लाबाट समेत माग भएकोले त्यही आधारमा उत्पादन गर्ने केन्द्रको योजना छ ।
केन्द्रले गत वर्ष पनि १ लाख ३१ हजार अलैंचीको नयाँ विरुवा उत्पादन गरी वितरण गरेको थियो । २ वर्षभित्र ७ लाख नयाँ विरुवा उत्पादन गरी किसानहरुलाई वितरण गर्ने केन्द्रले जनाएको छ । छिर्के फुर्के घोगे स्याग्रे जुरजुरे जस्ता रोगले अलैंचीको बगान सखाप भएपछि केन्द्रले निरोगी विरुवा वितरण सुरु गरेको हो । नेपालको इलाम पाँचथर ताप्लेजुङ्ग सङ्खुवासभा तेह्रथुम धनकुटामा अधिकतम अलैंचीको खेती हुने गर्दछ । हाल नेपालको ३७ वटा जिल्लामा अलैंची खेती भइरहेको बताइएको छ । नेपालमा रामसांई गोल्साई डम्बरसाई साउने र चिवे जातका अलैंची खेती हुने गरेको छ ।
नेपालको करिब १२ हजार तीन सय ६० हेक्टर जमिनमा अलैंचीको खेती हुने गरेको केन्द्रको तथ्यांक छ । सुरुमा प्रतिरोपनी ३६ किलो अलैंची उत्पादन हुने गरेको अहिले घटेर प्रतिरोपनी २२ किलोमात्र उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु