Tuesday, October 26, 2010

वर्गसंघर्ष,मुक्तिको प्रश्न र हाम्रो दायित्व

 _+++________++++++++++++++_______________+++++++++++++++++
                                                            केहरसिङ कुँवर
वर्गीय समाजमा राज्यसत्ता र त्यसका सबै संरचनाहरु त्यही वर्गको हितको लागि निर्माण गरिएका हुन्छन् । राज्यसत्ता एक वर्गले अर्को वर्गलाई उत्पीडन गर्ने मूल साधन हो । विद्यमान अवस्थामा साम्राज्यवादी विस्तारवादी र सामान्ती राज्यसत्ताहरु नै शोषित पीडित वर्गका जनसमुदायहरुमाथि दमन उत्पीडन गर्ने शोषक वर्गको प्रतिनिधित्व गर्ने विशाल अखडाहरु हुन् ।
मुलतः दुईवटा क्याम्पमा विभाजित यस परिवेशमा एकातिर साम्राज्यवादी विस्तारवादी र प्रतिकि्रयावादी सामान्ती अखडा जसले आफूलाई शास्त्र-सश्त्र-अस्त्र र स्रोत साधनको एकाधिकार मार्फत् अर्थतन्त्रलाई आफ्नो पकडमा लिई श्रमजीवी वर्ग जसको अत्यन्त ठूलो जनसंख्याको हिस्सा छ-उक्त वर्गमाथि नरसंहार र उन्माद मच्याई आफ्नो अस्तित्व रक्षाको लागि जुनसुकै हथकण्डा उठाउन पनि पछि परेको छैन भने अर्कोतर्फ श्रमजीवी मजदुर किसान उत्पीडित वर्ग समुदायको विशाल पंक्ति एउटा शक्तिशाली कित्तामा उभिएको छ । यस प्रकारको वर्गीय मूल विभेदलाई अन्त्य गर्नका लागि वर्ग संर्घषको अनिवार्य आवश्यकता हुन्छ । गृहयुद्ध प्रत्येक वर्गसमाजमा अनिवार्य हुन जान्छ । वर्ग संर्घषको अन्तिम चरण युद्ध नै हुन जान्छ । साम्राज्यवादी विस्तारवादी सामान्ती नरसंहारकारी युद्धलाई रोक्न सर्वहारा वर्गले युद्ध नै गर्नु पर्छ र संघर्षद्वारा सर्वहारा वर्गले सबै प्रकारका दमन उत्पीडनका साङ्लाहरुलाई तोडेर आफ्नो नयाँ उन्मुक्तिको समानतापूर्ण राज्य व्यवस्था कायम गर्न सक्छ । जो उत्पीडित वर्गले मुक्तिको लागि संघर्ष गर्दैन त्यो वर्ग जहिले पनि दासत्वको पीडा भित्र छट्पटाइरहनु पर्दछ । युगांैदेखिको संघर्षको कारण विभिन्न प्रकारको उपलब्धी र समाज व्यवस्थामा कयांै परिवर्तन आएका छन् ।
प्रत्येक ऐतिहासिक युगका राजनीतिक व्यवस्थाको निर्माण तत्कालीन आर्थिक उत्पादन पद्धतिमा आश्रित सामाजिक संगठनको आधारमा हुन्छ । आदिम साम्यवादी युगमा भूमिमाथि सबैको अधिकार हुने गर्दथ्यो । जुन अवस्थाको अन्त्य भएपछि मनुष्य जातिको सम्पूर्ण इतिहास वर्ग संघर्षको इतिहास बन्न पुगेको छ । शासक वर्ग र उत्पीडित वर्ग मुलतः शोषक शोषित वर्गकोबीचमा भइरहने विद्रोह र संघर्षलाई इतिहासका विभिन्न चरणमा उल्लेखनीय परिणाम प्राप्त गर्दै आइरहेको छ । यी वर्गसंघर्षका विकासका विभिन्न अवस्थाहरु छन् । दास मालिक र दासहरुकोबीचमा भएको विद्रोह सामन्त वर्ग राजा रजौटाहरु र किसान वर्गबीचको संघर्ष तथा पँूजीवादी-साम्राज्यवादी वर्ग र मजदूर तथा उत्पीडित वर्ग राष्ट्र र जनताका विशाल अन्तरविरोध र संघर्षहरु वर्गसंघर्षका घनिभूत रुपहरु हुन् । अहिले वर्गसंघर्ष स्वरुप विभिन्न अन्तरविरोध विभेद उत्पीडन दमन हस्तक्षेप शोषणका नयाँ-नयाँ आयामहरुबाट समाजमा देखा परेका राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक पक्षमा सम्पूर्ण मानव जीवन प्रतिविम्वित हुन पुगेको छ । यस वर्गसंघर्षको इतिहासमा निरन्तर नयाँ उचाईबाट सम्पूर्ण शोषित पीडित उत्पीडित वर्ग समुदाय र उनको मुक्ति चाहने शक्तिहरु माक्स्रवादी दर्शन र सिद्धान्तलाई दह्रोसँग आत्मसात गरी सामन्ती पूँजीवादी सामन्तीवादी शक्तिहरुको सबै किसिमका जाल षड्यन्त्र मूलतः वर्ग विभेदका अत्यका लागि समस्त समाजलाई सधैं-सधैंका लागि मुक्त नदिलाई यही वर्गीय शोषणमुलक राज्य संरचनाबाट समानताको कल्पनासम्म पनि गर्न सिकंदैन ।
वर्गीय संघर्षमा मुलतः दुईवटा दर्शनमा आधारित वर्गहरु प्रशिक्षित हुने र सबै प्रकारका आफ्ना हरकतहरु प्रदर्शन हुने गर्दछ । माक्स्रवादी भौतिकवादी दर्शनमा आधारित सर्वहारा वर्गको मुक्तिकामी मोर्चा हरेक वैचारिक विश्व दृष्टिकोणले आफूलाई सशक्त गराउँदै दार्शनिक सांगठनिक अभियानलाई राष्ट्रव्यापी र अन्तर्राष्ट्रियव्यापी ढंगले निमार्ण गर्न पुगेको हुन्छ । अर्कोतर्फ शोषक वर्ग पूँजीपति सामन्त दलाल वर्गले आध्यात्मवादी परलोकवादी र ईश्वरवादी दर्शनको आधारमा आफ्नो शोषणमुलक राज्यसत्तालाई कायम राखी राख्न नयाँ-नयाँ संजाल र भ्रमहरुमार्फत् निरन्तर विश्वव्यापी गठबन्धन विस्तार गरेको छ । यस प्रकारका गम्भीर र विशाल प्रकारको पर्खाल विश्वसामु कित्ताकाट भएको स्थितिमा वर्गविहीन समाज स्थापना गर्न अग्रसर हुनु सच्चा माक्स्रवादी लेनिनवादी शक्तिहरुको दायित्व रहेको छ विश्वका विभिन्न देशका आ-आफ्ना वस्तुगत र आत्मगत परिस्थितिअनुसार त्यहाँका प्रतिकि्रयावादी शोषक वर्गहरुको राज्यसत्तालाई ध्वस्त पार्नु आजको मुल आवश्यकता बन्न पुगेको छ । यो विश्व परिवेशमा आजको सामन्ती व्यवस्थाको विकल्पमा नयाँ जनवादी क्रान्ति मार्फत् नयाँ जनवादी व्यवस्था हुँदै समाजवादी व्यवस्था स्थापनाका लागि नै आफ्ना सबै प्रकारका कार्यक्रमहरुलाई लक्षित गर्नु महत्वपूर्ण योजना बन्नुपर्दछ ।
विश्वका कुनै पनि स्थान बाँकी छैन जहाँ वर्गीय लडाइ नचलेको होस् । त्यसैले कुनै पनि मुलुकमा चल्ने वर्गीय आन्दोलनका विभिन्न रुपहरु र गतिविधिहरुले विश्वक्रान्ति र परिवर्तनको अंगको रुपमा महत्व राखेको छ । माक्स्रवाद र लेनिनवादले किसान मजदूरका समस्या राष्ट्रिय समस्या जाति िलंग र मुलतः आर्थिक सामाजिक सांस्कृतिक राजनीतिक समस्या समाधानको मुल पक्ष नै वर्गसंघर्ष र सर्वहारा वर्गको नेतृत्वमात्रै हुन सक्दछ भन्ने कुरा ठोकुवा गरेको छ । त्यसो हुनुको सार अर्थ के हो भने सर्वहारा वर्ग नै आजसम्मको मानव इतिहासको सबैभन्दा क्रान्तिकारी वर्ग हो । त्यसैले नै कुनै पनि समस्याको समाधानका लागि चलाइने संघर्षलाई नेतृत्व गरेर अन्तसम्म पुर् याउन सक्दछ । सामन्तवाद पूँजीवाद र साम्राज्यवादको गर्भबाट नै उसको चिहान खन्ने शक्ति पैदा भइराखेको हुन्छ ।
एकातिर धनी शोषक सामन्त पूँजीपतिहरु र अर्कोतर्फ गरीब शोषित पीडित किसान र मजदूर वर्ग ठूलो रुपमा पैदा भइराखेको छ । उनीहरु सचेत र संगठित भई सामाजिक उत्पीडन र दमनको मुल जरो पत्ता लगाई त्यसको उन्मुलन गर्ने अभियान चलाइराखेका हुन्छन् । पूँजीवादको विकासले वर्गहरुलाई चेतना प्राप्त गर्न र राजनीतिक पार्टीका रुपमा संगठित हुन अनुकूल वातावरण तयार गरेको छ ।
शोषित श्रमजीवी वर्गहरुले यस अनुकूल वातावरणबाट फाइदा नउठाउने भन्ने प्रश्न नै हुँदैन । इतिहासको अन्यायपूर्ण राज्यसत्ताका कि्रयाकलापहरुबाट प्राप्त शिक्षाले श्रमजीवी वर्गलाई पार्टी र क्रान्तिमा संगठित रुपबाट होमिनु पर्ने अपरिहार्यता स्पष्ट हुन्छ । पूँजीपति शोषक वर्गहरु आफ्नो गुटको संसारलाई टिकाउनमा र प्रतिक्रान्तिकारी मनोकामना पूरा गर्न आफ्नो स्वार्थको लागि राजनीतिक पार्टी निर्माण गरी विश्वव्यापी संजाल निर्माण गर्न पुगेका छन् । उनीहरुका उद्देश्य मजदुर किसान श्रमजीवी र सर्वहारा वर्गहरु माथि ुफुटाउ र राज गरु को नीति अवलम्बन गर्ने रहन्छ । यस्तै स्थितिमा सर्वहारा श्रमजीवी वर्गले अलग-अलग प्रकारको होइन संयुक्त र शाक्तिशाली प्रकारले एक ढिक्का भई सच्चा माक्स्रवादी लेनिनवादी राजनीतिक पार्टीमा संगठित भई इतिहासले सुम्पिएको जिम्मेवारी पूरा गर्न पंक्तिवद्ध हुनै पर्दछ ।
दुनियाँ परिवर्तनको यो नियमलाई आत्मसात गर्दै मक्किएको पुरानो राज्य व्यवस्थालाई अन्त्य गर्नु पुरानो र प्रतिक्रान्तिकारी चरित्रका संरचनाहरुलाई उखेलेर त्यसको स्थानमा नयाँ जनवादी आधार स्थापना गर्नु भूतले वर्तमान माथि राज्य गर्नु नभई वर्तमानले भूत माथि राज्य गर्नु मरेका सडेगलेकाहरुले जिउँदा उर्जाशील विचारमाथि शासन गर्नु नभई जिउँदा र उर्जाशील चिन्तन र विचारले सम्पूर्ण समुदायमा नेतृत्वदायी भूमिका खेल्नु आजको आवश्यकता र उचित निकास हो । यसको लागि सच्चा क्रान्तिकारी पार्टी जसमा सर्वहारा वर्गको लागि लड्ने सेना राजनीतिक संगठनात्मक रुपले निरन्तर प्रशिक्षित संगठनात्मक अंगको रुपमा जिम्मेवार बहन गर्ने र देश र जनताको लागि राष्ट्रियता जनतन्त्र नयाँ जनवाद समाजवाद र साम्यवाद स्थापनाको अभियानमा चुनौतिहरुको सामना गर्ने शक्ति र साँचो अर्थमा नेपाली क्रान्तिमा लागेका शक्तिहरुको क्रान्तिकारी पार्टीको एकता र संयुक्त मोर्चा आजको ठोस आवश्यकता हुन पुगेको छ । नयाँ जनवाद समाजवाद साम्यवाद अँध्यारोबाट उज्यालोमा प्रवेश गर्ने यर्थाथ परिकल्पना भएकोले यो साझा र सम्पूर्ण श्रमजीवी वर्गको मुक्तिको आश्रय स्थल भएको हुँदा दायित्वबोधकासाथ आशा भरोशा र विश्वास र प्रतिवद्धताकासाथ एउटै मिलन विन्दुमा आवद्ध भई महान लक्ष्यलाई सार्थक बनाउन लागौं ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु