पूर्व राजपरिवारका सदस्यहरु औपचारिक रुपमा नै एनजीओकर्मी बनेका छन्। केही समयअघि मात्रै सीडीओ कार्यालयमा दर्ता गरिएको ‘हिमानी ट्रस्ट’ नामको यो एनजीओको उदघाटन उनकै ससुरा पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रबार गरे। म्युजिक एल्बमको त प्रत्यक्ष प्रसारण गर्ने नेपालका टेलिभिजनहरुले यसको पनि प्रत्यक्ष प्रसारण गरेका थिए।
अरु एनजीओले पैसा खायो भनेर उनकै पति पूर्व युवराज पारस शाहले आरोप लगाएको केही दिनमा हिमानीको यो एनजीओ सुरु भएको हो। अरु एनजीओमा परिवारवादको आरोप लागे जस्तै यो एनजीओलाई पनि लाग्न सक्छ, किनभने घोषित सात सदस्यीय कार्यसमितिमा हिमानी परिवार कै सदस्य मात्र छन्। त्यसअर्थमा यो हिमानी एन्ड फेमिली एनजीओ जस्तो भएको छ। एनजीओकी संरक्षक सासु पूर्व रानी कोमल छिन्। सदस्यहरुमा नन्द प्रेरणा लगायत पूर्व राजपरिवारका महिला सदस्यहरु छन्। पुरुष सदस्यहरुलाई यसमा राखिएको छैन र उदघाटन कार्यक्रममा पति पारसको पनि उपस्थिति थिएन।
संस्थाकी अध्यक्ष हिमानी शाह, उपाध्यक्ष नन्द प्रेरणा शाह, उदघाटन गर्न आउने ससुरा ज्ञानेन्द्र शाह, संरक्षक सासु कोमल शाह। यो एनजीओको नारा ‘जागरुक समाज, उज्ज्वल भविष्य’ भन्ने छ। काम चाहिँ बालबालिका, महिला, युवा, वृद्धवृद्धालाई लक्ष्य गरी शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक विकासजस्ता भएभरका क्षेत्रमा हात हाल्ने उद्देश्य छ।
हिमानीले एनजीओमा ५० लाख रुपैयाँ व्यक्तिगत रुपमा राखेर संस्था सुरु गरेको बताएकी छिन्। तर अब भविष्यमा पनि यसरी नै व्यक्तिगत रुपमा रकम उनीहरुले खर्च गर्लान् भनेर सोच्नुभएको छ भने गलत भयो। उनले अरु एनजीओले जस्तै दातृ निकायको सहयोग लिने बताएकी छिन्।
कार्यक्रममा हिमानी र प्रेरणाले सम्बोधन गर्दा कोमललाई श्री ५ वडामहारानी र ज्ञानेन्द्रलाई श्री ५ महाराज नै भनेकी थिइन्। गणतन्त्र कार्यान्वयन भइसकेपछि ‘श्री ५’ पद कानुनी रुपमा अस्तित्वमा छैन। तर पनि राजावादी र राजपरिवारका सदस्यहरुले सार्वजनिक कार्यक्रममा नै ‘श्री ५’ शब्द प्रयोग गर्दै आएका छन्।


No comments:
Post a Comment