__________________________गणेश लम्साल ______________________
सामाजिक संजाल फेसवुकको स्टाटासमा केहि दिन आगाडि लेखें चाडवाड आयो अब के खाने के पिउने हो एउटा प्रतिकृया पाएँ क्वाप्प खाने अनि सुरुप्प पिउनु भन्ने र अर्को प्रतिकृया पाएँ के खाने चिन्ता हो कोनी कसैले चाँहि मासु चिउरा त खाने हो नी भनेर प्रतिकृया पाएको थिएँ । मैले प्रतिकृयाहरुलाई पनि वर्गीकरण गरे । देशमा विद्यमान वर्गीय विभेदले गर्दा चाडवाड पनि वर्गीय रुपले मानिदो रहेछ ।
वास्तवमा चाडवाडमा बढी चिन्ता खाने पिउने र लाउनकै हुदो रहेछ । यसैले मैले जस्तो चिन्ता लिनेहरु धेरै होलान् । हुनेहरुले मासु च्युरा खाएर दशै धान्लान नहुनेहरुले ईस्कुसको चानामा टाटो मार्लान् । कसैले मखमल र फाईवर लाउलान् कसैले सुति पनि नपाउलान् । कसैलाई रेडलेवल जस्ता स्कच पिउन पनि कुनै गह्रो नहुँदो त हुन कसैलाई दहीमोहि पनि जोहो गर्न हम्मे पर्दो हो । यस्ता धेरै असमान समस्याहरु छन् हाम्रो समाजमा । जुन हरेक वर्ष आउने चाडवाडले पनि चित्रण गरेर देखाउँछ । चाडको बेला सुरु भएसँगै हुनेहरु किनमेल गर्न भारतीय महंगा शहरबजार धाउछन् भने नहुनेहरु स्वदेशी बजारमा पाईने टालाटुली पनि किन्ने हैसियतमा हुदैनन् ।
तर पनि चाडवाडको बेला बजारमा आर्थिक कारोवार अन्यबेलाको तुलनामा ह्वात्तै बढ्छ । मानिसहरु आफनो स्तर अनुसारको किनमेल गर्न बजारमा निस्कने गर्दछन् । र यहि मौका छोपेर धेरै काला व्यापारीहरुले उपभोक्तालाई लुटने योजना बनाएका हुन्छन् । र धेरै उपभोक्ताहरु ठगिन्छन् र लुटिन्छन् पनि । यसैलॆे यो बेला किनमेलमा ध्यान पुरयाउनु त पर्छ नै साथै बजारमा भैरहेका विकृति विसंगतीहरुलाई पनि चिनेर हटाउने चेष्टा गर्नुपर्दछ ।
आजकल धेरैको चिन्ता चाडवाडका बेला भारतीय बजारहरु गुलजार भए तर नेपाली बजारहरु सुनसान रहे भन्ने गुनासो बढी सुनिन थालेको छ । यो कुरो साँचो पनि हो । हरेक वर्ष झै यो वर्ष पनि भारतीय सिमावर्ती बजार फुक्दो र नेपाली बजारहरु सुक्दो अवस्थामा छन् । तर व्यापारी केहि उपभोक्तावादी संघ संगठनहरुले यसबारेमा चिन्ता व्यक्त गर्न थालेको पाइए पनि समस्याको जरो भने समात्न सकेको देखिदैन । राजस्व बढी लगाउँदा चोरी तस्करी बढ्यो हाम्रो व्यापार घट्यो भन्ने बढी गुनसाहरु आउने गरेका छन् । चोरी तस्करी बढेको सत्य पनि हो । तर मूल समस्या चोरी तस्करी बढ्यो र व्यापार धराशायी भयो भन्ने मात्रै हैन किन बढ्यो भन्ने पनि हो । जबसम्म चोरी तस्करी बढ्ने कारण बुझन सकिदैन तवसम्म समस्याको दिगो समाधान गर्न पनि सकिदैन ।
एक त नेपालमा औद्योगिकीकरण नै हुनसकेको छैन । अर्कोतिर भएका उद्योगहरु पनि धमाधम बन्द भैरहेका छन् । स्थानीय उत्पादनसँग मेलखाने ठूला साना सवै उद्योगहरु मात्रै नाफामुखी सोच भएका शासक र उद्योगी व्यापारीहरु अनि भ्रष्ट प्रशासकहरुले गर्दा धराशायी भैसकेका छन् । राज्यले देश सुहाउँदो नीति बनाउन नसक्दा ग्रामीण क्षेत्रलाई प्रतिनिधित्व गर्ने साना र मझौला उद्यधोग सबै बन्द भएका छन् । भन्नलाई कृषि प्रधान देश भनेपनि र स्वदेशी वस्तु उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्ने भनिएपनि खाने तेल देखि आँटा चामल दाल र लत्ताकपडा सवै हामी विदेशमै उत्पादन भएका लगाउन वाध्य बनाईएका छौ । हामीकहाँ भएका उद्योगहरु पनि बढि कच्चा पर्दाथ पनि विदेशबाटै ल्याउनुपर्ने र उत्पादन गरिएका वस्तु पनि विदेश नै लानुपर्ने स्थिति छ । यसैले पनि उद्योगहरु आफू स्वायत्त नहुँदा परनिर्भर हुन गै धराशायी हुन पुगेका हुन ।
छोटोमा भन्नुपर्दा अब नेपालको व्यापार बढाउन विदेशी वस्तुको भर परेर मात्र हुदैन स्वदेशमा आफ्ना उत्पादनहरु बढाउन सक्नु पर्दछ । त्यसकालागि राज्यको नयाँ सोच हुन त आवश्यक छ नै उद्योगी व्यापारीहरु र उपभोक्ताहरुले समेत राष्ट्रियताको भावनाको विकास गर्न आवश्यक छ । देशलाई माया गर्नु भनेको आफ्नो लगानी दिनु पनि हो नकि गाली गर्नु र दिएन गरेन भनेर गुनासो गर्नु मात्रै । यसैले पनि राम्रो खोज्ने बानीले भारतीय बजार धाएर मात्रै हामीले सधैका लागि समस्याबाट उन्मुक्ति पाउन त सक्दैनौ नै आफ्नो औद्योगिक र व्यापारिक भरपर्दो नीति बनाउन नसकेमा आत्मनिर्भर पनि हुनसक्दैनौ ।
No comments:
Post a Comment