असोज १ गते नेपाली काँग्रेसको बाह्रौं महाधिवेशनको उद्घाटन कार्यक्रममा एमाओवादी पार्टीका अध्यक्ष प्रचण्ड मुख्य आर्कषण वन्नु भयो । आधा दर्जन विदेशी र एक दर्जन वढी नेपालका राजनैतिक
दलका नेताहरुले भाषण गर्नु भएको उक्त कार्यक्रममा सबैभन्दा बढी कामरेड प्रचण्डको भाषणले व्यापकता पायो । उहाँले अर्काको मन्चमा भएपनि ढुक्कले मुलुकका समस्याप्रति गम्भिर बन्दै आफना कुरा निर्धक्क राख्नुभयो । उहाँले भन्नु भयो- सात सात पटक प्रधानमन्त्रीको चुनाव गर्दा पनि पार नलागेपछि अव मुलुकलाई नयाँ पाराले निकास दिन मैले प्रधानमन्त्री चुनावको रेस छोडें । अनि उहाँले यो पनि भन्नुभयो काँग्रसले माओवादीलाई मूलधारमा ल्याएको हैन ।कामरेड प्रचण्डले भाषण गरिसकेपछि भिड पनि तितर वितर भयो । काँगे्रसबाट प्रधानमन्त्रीको चुनाव सातै पटक लड्नु भएका रामचन्द्र पौडल प्रचण्डपछि बोल्ने क्रममा बुढो स्वरमा बोल्नु भयो-लोकतान्त्रिक मुलुकमा सहमतीबाट प्रम छानिदैन । त्यो विधि सम्मत हुदैन र अपवाद मात्रै हुन्छ । उहाँले काँग्रसले नै मुलुको नेतृत्व सम्हाल्ने दाबी गर्नु भयो ।
विभिन्न टेलिभिजनबाट देशभर प्रत्यक्ष प्रसारण भएको उक्त भाषणको निक्कै चर्चा परिचर्चा भैरहेको छ । देशका ठुला दैनिकहरु मात्र नभएर विविसि नेपाली सेवा र अन्तर्राष्ट्रिय संच्ाार माध्यमहरुले पनि प्रमुखताका समसामयिक भाषण मानेर चर्चा परिचर्चा गर्दै सम्प्रेषण र प्रसारण गरे । चर्चाका लागि राजनैतिक एजेण्डा विहिन भएका गफाडीहरुले पनि गफको एजेण्डा फेला पारे । र पुस्तक पसल चौराह चिया पसलहरुमा सधैझै एमाओवादीलाई नै लक्षित गरेर गफ चुटिन थालिएका छन् । उनीहरुले आफूहरुले मात्रै लोकतन्त्र बुझेको स्वांग गरेर भन्ने गरेका छन्- काँग्रेस जे भन्छ यो मुलुकमा त्यहिँ हुन्छ ।
प्रतिकृयावादीहरुको आफ्नो एजेण्डा नहुने भएकोले उनीहरु अर्काले गरेको कि्रयामा नकारात्मक व्यवहार देखाउने प्रवृत्तिका हुन्छन् । यसैले पनि होला उनीहरुले सात पटक हारेपछि आठौ पटक पनि हार्नु नपरोस् भनेर प्रचण्डले लाज पचाउन प्रम छान्ने निर्वाचनको रेस छाडेको भनेर गफ छाँट्न थालेका छन् । यतिमात्र हैन मुलुकको परिवर्तनकारी राजनीतिमा उच्च पहुँच बनाएको र त्यसैतर्फ देशलाई लान चाहने एमाओवादीको व्यवहारदेखि रुष्ट भएकाहरुले एमाओवादीले देशलाई सकेरै छाड्ने रैछ भनेर पनि भन्न भ्याएका छन् ।
एमाओवादी अध्यक्ष प्रचण्डले काँग्रेसको सभामा प्रम बन्नका लागि निर्वाचनको रेस छाडेर जायज कार्य गर्नु भएको छ । अबको निकास भनेको सहमतीको राष्ट्रिय सरकार नै हो । र एमाओवादीले पनि यसैमा जोड दिदै आएको हो । एमाओवादीको राष्ट्रियताप्रति समर्थित सोचलाई निषेधको राजनीति ठान्नेहरुले नै प्रमको निर्वाचन भाँडेका हुन् । एमाओवादीले कहिल्यै पनि संसदीय रेसमा दौडन चाहेको हैन र छैन । आफूलाई भुक्तभोगी लोकतन्त्रवादी मान्ने दलहरुले भारतीय विस्तारवादीहरुको जालमा फँसेर मुलुकलाई निकास दिन चाहेनन् । उनीहरुले हरसम्भव एमाओवादीलाई फुटाउने दाउपेच गरिरहे । एमाओवादी फुटाउन शसक्त रुपमा मिडियाहरु परिचालन गरिए । लोभ र लाभको खेलमा पत्रकारहरुलाई फुटाउन काम गरिए । तर एमाओवादीले आफ्नो सहि नीति छाडेन । मुलुकलाई नयाँ संविधान दिनका लागि राष्ट्रिय सहमती सहितको सरकारलाई वाध्यकारी मान्यो । यसैले संसदीय फोहोरी खेलमा लडिरहनुको साटो नयाँ प्रकृयामा जानु उपयुक्त ठान्यो । र एमालेसँग तीन वुँदे सहमती गर् यो ।
कामरेड प्रचण्डले संसदीय निर्वाचनको फोहोरी रेस मात्र छाडनुभएको हो । तर मुलुकलाई निकास दिन नयाँ ढंगको रेस त भर्खर सुरु गर्न लाग्नुभएको छ । जसलाई टुंगोमा पुरयाउन आवश्यक छ । भनिन्छ जो जित्नका लागि रेस गर्छ जित उसैको हुन्छ र जसले जित्नेलाई हराएर जित्न खोज्छ उसले जहिल्यै हार्नु पर्छ । यसैले पनि रामचन्द्र पौडेल र केपी ओलीहरु आत्तिन थालेका छन् ।
मुलुकको वर्तमान राजनीतिले पनि जित जित्नैकै हुने प्रस्ट पारेको छ । कठिन रेस जित्न संसदवादीले भनेजस्तो सजिलो हुदैन । विचरा उनीहरुले प्रचण्डलाई सात चोटी हारे भनेर चित्त बुझाई रहेका छन् । तर अध्यक्ष प्रचण्डले सातै चोटीको निर्वाचनमा जित्नु भयो । हार्ने तर काँगे्रसका रामचन्द्र पौडल नै हुनुहुन्थो । जनताको पार्टीलाई जित्न नदिन उहाँहरु सधै हराउन लाग्नुभयो । तर कसै गर्दा पनि उहाँहरुले जित्न सक्नु भएन । लोभ देखाउनु भयो । मोर्चा बनाउन लगाउनुभयो । राष्ट्रको गोपनीयता समेत बेचेर टेप प्रकरण र एमाओवादी भित्र फुट आएको अफवाह पनि फैलाउनु भयो । र एमाओवादी भ्रष्टचारी भयो भनेर झुठो आरोप लगाउनु भयो । हराउन सकिन्छ कि भनेर उहाँले के गर्नु भएन सबै साम दाम दण्ड भेदको नीति अवलम्वन गर्नुभयो । तर जनताका लागि मूल्यको राजनीति गर्नेका अगाडि उहाँहरुको केहि लागेन ।
यसैले अबको रेस कुनै व्यक्तिवादी चिन्तनका लागि नभएर जनताको हितका निम्ति हुन आवश्यक छ । अबको रेस शान्ति प्रकृयालाई निष्कर्षमा पुर् याउनका लागि हुन आवश्यक छ । अबको रेस मुलुकलाई तत्काल नयाँ सरकार दिएर हावी हुदै गएका निरंकुशतावादीहरुलाई सदाका लागि परास्त गर्नका लागि आवश्यक छ । फेरि पनि उहि पुरानै ठर्राले रेसमा छिर्के लगाउने काम भए प्रतिकृयावादीहरुलाई जनताले तिरस्कार गरिसकेका पूर्व राजा ज्ञानेन्द्र र उनका भित्ति छोरा पारसले लोकतन्त्रको परिभाषा सिकाउँदै शासन गर्नेछन् र दलहरु तीनका दरवारमा दाम चढाउने परम्परालाई नै स्वीकार गर्न वाध्य हुनेछन् ।
No comments:
Post a Comment