Wednesday, September 8, 2010

आज कुशे औँसी, हिन्दु धर्मावलम्बी देश भर मनाउदै ।

२३ भदौं आज कुशे औँसी, हिन्दु धर्मावलम्बी वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी छेदन गरिएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दुहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई विष्णुको प्रतीक मान्छन् । गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीले बाबुलाई मनपर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप आज छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद लिन्छन् ।
बाबु दिवंगत भइसकेका छोराछोरीले भने गोकर्ण तथा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गर्ने गर्दछन् । काठमाडौँको गोकर्णेश्वर महादेव र उत्तरगया भनेर चिनिने रसुवाको वेत्रावती, धरानको विष्णुपादुका तथा अन्य पवित्र स्थानमा गई आ(आफ्ना दिवङ्गत बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदादान गर्नेको ठूलो घुइँचो लाग्छ ।
आजै युवाकवि मोतीराम भट्टको १ सय ४५ औँ जन्मजयन्ती मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विसं. १९२३ भाद्रकृष्ण कुशे औँसीका दिन जन्मेर विसं. १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु