Saturday, September 4, 2010

कूटनीति घरधन्दा जस्तै


विन्देश्वरी शाह - परराष्ट्र सेवामा ३३ वर्ष काम गर्दा एकजना पनि महिला साथी बनाउन पाइनँ। मैले सम्झेसम्म २०१५ देखि २०४८ सालसम्मको जागिरे जीवनमा अन्त्यतिर आएर एकजना महिला परराष्ट्रमा आएजस्तो लाग्छ। अहिले पुरुषबराबर महिला कूटनीतिक सेवामा छिरेको खबरले म उद्वेलित भएकी छु। बुबा पद्मसुन्दर मल्ल कलकत्तामा इन्जिनियर हुनुहुन्थ्यो। राणा शासनले हाम्रो परिवारलाई स्वदेश आउन रोक लगाएको थियो। आधुनिक शिक्षा दिन बुबाले मलाई खर्साङ पठाउनुभएको थियो।
नेपालमा राणाशासन अन्त्य भयो। हाम्रो परिवार स्वदेश फर्कियो। म खर्साङबाटै २००८ सालमा अमेरिका हानिएँ। कोलम्बिया युनिभर्सिटी, न्युयोर्कबाट राजनीतिशास्त्रमा ग्र्याजुयट गरेँ। मलाई त्यसपछि अन्तर्राष्ट्रिय सम्बन्ध पढ्ने रुचि जाग्यो। रोजेकै विषयमा जोन हप्किन्स विश्वविद्यालयबाट मास्टर्स गर्ने मौका मिल्यो। अमेरिकामै काम गरिरहेको थिएँ, तर सन्तुष्टि भएन। घरबाट पनि तारन्तार बोलावट आइरहेको थियो।


मेरा प्रोफेसर जोन्सनले नेपालमा संविधान मस्यौदा विशेषज्ञको काम गरेर फर्केका रहेछन्। 'बेचैन भएर नबस, मुलुक फर्केर सरकारमा काम गर,' उनले मलाई सुझाए, 'नेपालको परराष्ट्र मन्त्रालयम तिम्रो खाँचो छ।'


धेरै वर्षअघि मृत्यु भइसकेका प्रोफेसरको दिव्यवाक्य म अहिले पनि सम्भि्कन्छु। उनले नै मेरो दिमागमा कुटनीतिज्ञ बन्ने भुत सवार गराइदिएका हुन्।
परराष्ट्रमा जागिर खान लोकसेवा दिनुपर्ने रहेछ। लोकसेवा कुरेर बेइलमी भएर बस्न मन्न लागेन। त्यतिन्खेरै सरकारले पहिलो पुस्तकालय बनाउन लागेको थियो। लाइब्रेरियनको विज्ञापन खुल्यो। म चिफ लाइब्रेरियन बनेँ।

४ सय ६० रुपैयाँ तलब थियो। अविवाहित थिएँ। तैपनि तलबले जुत्ता खर्च पनि पुग्दैनथ्यो। साडी, मेकअप र पकेट खर्चका लागि आमासँग महिनैपिच्छे २ हजार लिन्थेँ। घरबाट पकेट खर्च धान्ने क्रम जागिर अवधिभर टुटेन।


केही महिनामा पुस्तकालय बन्यो। उद्घाटनमा राजा महेन्द्र र प्रधानमन्त्री बिपी कोइराला आएका थिए। मैले अंग्रेजीमै बोलेँ। पुस्तकालयको १ नम्बर सदस्य राजा र २ नम्बर प्रधानमन्त्री बन्नुभयो।


बिपीले मेरोबारे सोधीखोजी गर्नुभयो। 'अमेरिकाबाट राजनीतिशास्त्र पढेर आएको व्यक्तिलाई यो काम उचित भएन,' उहाँले राजासित अंग्रेजीमा भन्नुभयो। राजाको जवाफ थियो, 'राजनीतिमा त तपाईंहरू हुँदै हुनुहुन्छ नि!'


बिपीसँगको यो चिनजानले मलाई पछि परराष्ट्रको करिअरमा मद्दत गर्‍यो। २०१६ सालमा लोकसेवा खुल्यो। कतिपय विषय नेपालीमा जाँच दिनुपर्ने रहेछ। मलाई अंग्रेजी लिपिमा उत्तर लेख्ने छुट दिइयो। नेपाली बोल्न सक्थेँ। तर, देवनागरी लिपिमा लेख्न नसक्नेले अंग्रेजीमा परीक्षा दिन पाउनुपर्ने माग गर्नुपरेको थियो।


त्यतिखेर सात सिटमा ९७ जना भिडेका थिए। २०१५ मा मैले पास गरेँ। सुरुमा शान्ति राणा पनि परराष्ट्रमै हुनुहुन्थ्यो। केही महिनामै उहाँलाई अरू मन्त्रालय पठाइयो। मन्त्रालय सिंहदरबारमै थियो। सबै मन्त्रालय गरेर महिला अधिकृतको संख्या २/३ जनाभन्दा थिएन होला। त्यतिबेला कहिल्यै कतै महिला अधिकृतलाई भेट्न पाइएन।
परराष्ट्रमन्त्री पनि बिपी नै हुनुहुन्थ्यो। मलाई बिर्सनुभएको रहेनछ। विश्व खाद्य तथा कृषि संगठनमा भोकमरी अन्त्यसम्बन्धी पत्रको मस्यौदा उहाँको टेबलमा रहेछ। चित्त नबुझेर मलाई डाक्नुभयो। र, लेख्न भन्नुभयो। मैले एकैछिनमा लेखिदिएँ। त्यो पत्र जस्ताको तस्तै अनुमोदन भएपछि मेरो आत्मविश्वास झनै बढ्यो।


बिपी मलाई विन्दा भन्नुहुन्थ्यो। उहाँकै कार्यकालमा मेरो सरुवा वासिङटनको द्वितीय सचिवमा भयो। आदर्श कूटनीतिज्ञ बन्न हरदम प्रयास गरेँ। अमेरिकी विदेश मन्त्रालय साउथ एसिया डेस्क र नेपाल हेर्ने अधिकृतहरूसँग असाध्यै राम्रो सम्बन्ध बनाएँ।

आजकाल नेपाली कुटनीतिज्ञ सम्बन्ध विस्तारमा चनाखो भएजस्तो लाग्दैन। सिंहदरबारको १०-५ को जागिर जस्तो गर्ने कूटनीतिज्ञबाट मुलुकले केही फाइदा पाउँदैन। राष्ट्रहितका पक्षमा उनीहरूसँग ब्रेकफास्ट, डिनर, गल्फ, क्लब जहाँसुकै भेटेर आफ्ना एजेन्डालाई प्राथमिकतामा पारेरै छाड्छु भन्ने हुनुपर्छ।

सरकारले दूतावास र अधिकारीहरूलाई मनोरन्जन शीर्षकमा यसैका लागि पैसा दिएको हुन्छ। अचेल त्यही पैसामा पनि आँखा गाड्ने प्रवृत्ति देखिएको छ।
अमेरिकामा काम गर्दागर्दै राजदूत बनेर मातृकाप्रसाद कोइराला आउनुभयो। संयुक्त राष्ट्रसंघको आवासीय प्रतिनिधि पनि उहाँ नै हुनुहुन्थ्यो। न्युयोर्क र वासिङटन ओहोरदोहोर गरिरहनुहुन्थ्यो।


कतिपटक मैले पनि राष्ट्रसंघ बैठकमा जाने मौका पाएँ। उहाँको भाषा, ज्ञान, प्रस्तुति साँच्चिकै उत्कृष्ट थियो। महत्वपूर्ण बैठकमा पनि बिनातयारी सानदार बोलेको सुन्दा हामी छक्क पर्थ्यौं।

सुपारीको अम्मल भने अचम्मलाग्दो थियो। महत्वपूर्ण भेटघाट भाषणमा सुपारी चपाउने बानीप्रति भने उहाँ सतर्क हुनुहुन्थेन। बोल्न सुरु गर्नुअघि सुपारीका ठूला टुक्रा च्याप्नैपर्ने। युरोप, अमेरिकी र अरू देशका कूटनीतिज्ञ पनि उहाँको व्यक्तित्वसामु नतमस्तक हुन्थे।

अमेरिकामा रहेका नेपाली समुदायप्रति उहाँले अगाध प्रेम दर्शाउनुहुन्थ्यो। अहिलेका राजदूतले नेपालीको हित प्राथमिक कर्तव्य हो भन्न हेक्कासमेत नराखेजस्तो लाग्छ।


मातृकाबाट केही सिकेमा दूतावासका नाममा हुने खर्चले सार्थकता पाउँथ्यो। प्रत्येक शनिबार मातृकाको भान्छा सबैका लागि खुला रहन्थ्यो। विराटनगरको कोइराला निवास जस्तै। श्रीमती मञ्जु आफैं भान्छा तयार गर्नुहुन्थ्यो। दालभातको तिर्सना लागेका नेपालीहरू तीनचार घन्टा टाढाको बाटोदेखि पनि आउँथे।

म अमेरिकै छँदा राष्ट्रपति जोन अफ केनेडीको हत्या भयो। म जुन-जुन मुलुकमा खटिएँ त्यहाँ-त्यहाँ राष्ट्रपति वा राजनेताको हत्या भयो। यस्ता दुखद संयोगले गर्दा साथीभाइले कुनै राष्ट्रलाई क्षति पुर्‍याउनुपरे विन्दालाई पठाइदिए हुन्छ भनी जिस्काउँथे।


वंगलादेशको मिसन प्रमुखका रूपमा काम गरिरहँदा राष्ट्रपति शेख मुजिवर रहमान मारिए। म भारतको राजदूत भएकै बेला राजिव गान्धीको हत्या भयो।
अमेरिकाबाट फेर्केपछि मलाई युरोप, अमेरिका महाशाखाअन्तर्गत राखियो। कामको चाप केही कम भयो। भिरकोटे राजाका छोरा नारायणकेशरी शाहसँग मेरो विवाह भयो। दुई छोरा जन्मिए।


नेपाली महिलाले काम र घरबीच सन्तुलन मिलाउन झनै गाह्रो छ। अझ रातदिन खटिनुपर्ने र विभिन्न रिसेप्सनमा पुग्नुपर्ने महिलालाई झनै कठिनाइ छ। श्रीमती, आमा, बुहारी, छोरीको सफल भूमिका निर्वाह गर्न नसके कूटनीतिमा सफल हुन सकिन्न।


म यी सबै मोर्चामा सफल भएँ। सबैको भावना, अधिकार र आफ्नो कर्तव्य तथा समाजको मूल्यमान्यता बुझिदियो भने पारिवारिक जीवनको सन्तुलन नबिग्रने रहेछ। सबैको भावनाको सम्मान गर्ने र मानवीय भइयो भने मात्र सफल हुन सकिन्छ। अहिलेका बहिनीहरूले त्यो बुझे भने उनीहरूलाई अघि बढ्न सहज हुनेछ।
म कहिल्यै भान्छामा छिरिनँ। तैपनि मेरी सासुको केही गुनासो रहेन। के गर्दा उहाँ खुसी हुनुहुन्छ भन्ने बुझेको थिएँ। ढोगभेट गर्‍यो। सञ्चो-बिसन्चो सोध्यो। विदेश भ्रमणबाट फर्कंदा कोसेली ल्याउन बिर्सनु भएन। बिरामी परेका बेला विशेष रेखदेख गर्‍यो। कूटनीति भनेकै यही हो।


बीसको दसकको अन्त्यतिर मेरो बंगलादेश सरुवा भयो। पाँच वर्ष ननाघेका दुई छोरा बोकेर म कार्यस्थल गएँ। स्कुलमा कोही पनि नेपाली र अंग्रेजी बोल्दैनन् भनेर अनिलले रुवाबासी गर्थ्यो। सुत्ने बेलामा कथा सुनाउनसमेत नभ्याएकोमा अहिले पनि थकथकी लाग्छ।


आफ्नै पहलमा नेपाल-बंगलादेश व्यापार तथा पारवाहन सन्धि गराएँ। नेपालबाट सबभन्दा छोटो दुरीमा बंगलादेश पुगिने फूलबारी मार्ग पहिल्याउन सक्नु उपलब्धि नै मानिएको थियो।

बंगलादेशबाट फर्केको केही वर्षमा म सहसचिव भएँ। प्रशासन हेर्थे। मेरो स्वभावले चुप बस्न दिएन। तीन महाशाखा फुटाएर ६ वटा बनाउन पहल गरेँ।
दूतावास र नियोगहरूले कामको प्रतिवेदनसमेत गतिलो पठाउँदैनथे। को आए, गए, कतिलाई भिसा दिइयो, पासपोर्ट कति बने जस्ता तथ्यांक पठाएर झारा टार्ने काममात्र हुन्थ्यो।


मलाई चित्त बुझ्दैनथ्यो। मिसनको उद्देश्य हुन्छ- व्यापार, पर्यटन प्रबर्द्धन, नेपाली समुदायको हकहित आदि। उद्देश्यअनुसारको रिपोर्ट गर्न निर्देशन दिएँ। धेरै मिसनले ढर्रा छाडेनन्।
एकदुई ठाउँबाट आउने 'गज्जब' प्रतिवेदनबाट म प्रभावित भएँ। उनीहरू नेपाल आएका बेला धन्यवाद पनि दिएँ। बेलायती सेनासँग सम्पर्क अधिकृतका रूपमा नेपालले हङकङ खटाएको कर्णेल रुक्मांगद कटवालको काम अतुलनीय नै थियो।


उनले परराष्ट्र अधिकृतहरूले भरिएको अरू सबै मिसनभन्दा धेरै राम्रो गरेका थिए। बेलायती सेनामा नेपालीको प्रवेश, गोर्खाको अधिकार, सुविधालगायत विषयमा पठाएका प्रतिवेदन अहिले पनि पढ्नलायक छन्। गोर्खाबारे बेलायत सरकारले भविष्यमा लिने नीति र उनीहरूको सुविधा कटौतीबारेको विश्लेषण भविष्यवाणीजस्तै भएको छ।

राम्रो कूटनीतिज्ञ बन्न परराष्ट्रको झन्डामा आबद्ध भएरमात्र हुँदैन। मेहनत नगरी क्षमता, ज्ञान, कौशल विकास हुँदैन। मेहनत गरे बाहिरका पनि अब्बल, सक्षम हुन सक्छन् भनी मैले धेरैलाई कटवालबाट सिक भन्ने गरेकी छ।


नेपालमा पहिलोपटक सार्क सम्मेलनको तयारीको मौका पनि मिल्यो। प्रधानमन्त्री मात्र हैन पटक-पटक राजारानीलाई पनि ब्रिफिङ गर्नुपर्थ्यो। अन्तर्राष्ट्रिय समारोह आयोजना गर्दा झिनामसिना विषयदेखि ठूला एजेन्डामा कति मेहनत गर्नुपर्छ भन्ने भोगाइ भयो। राजारानीको नजरमा परेछु।

मेरो कामको मूल्यांकन गरेर भारतको राजदूत दिने निर्णय भएछ। मभन्दा पछि कोही पनि 'करिअर डिप्लोम्याट' भारत जान पाएका छैनन्। राजनीतिक पृष्ठभूमिका आधारमा 'हेभिवेट'हरूको मात्र नियुक्ति भैरहेको छ।


२०४४ सालमा म भारत गएँ। त्यतिबेला नेपाल-भारत सम्बन्ध कटु थियो। भारतले नेपाललाई चौध महिना नाकाबन्दी लगायो। साह्रै दबाब र तनावको समय थियो नेपालका लागि।

पञ्चायत ढलेपछि नाकाबन्दी फिर्ता भयो। कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुभयो। ठूलो राजनीतिक परिवर्तन भएकाले फिर्ता बोलाइएला भन्ने लागेको थियो। प्रधानमन्त्रीको भ्रमण तय भयो।

ठूलो राजनीतिक योगदान र त्याग गरेका सन्त नेतालाई स्वागत गर्न विमानमै पुगेँ। मलाई देख्नेबित्तिकै उहाँले डा.साप खोइ भन्नुभयो। म झस्किएँ। सन्चो भएनछ भन्ने लाग्यो। स्वागत कार्यक्रम सकेपछि फेरि डाक्टर खोइ भन्नुभयो। कतै माइनर हर्ट एटेक त भएन भनेर आत्तिएँ।
मेरो श्रीमानलाई खोज्नुभएको रहेछ। हाम्रो पारिवारबारे उहाँलाई थाहा थियो। मैले भेटाइदिएँ। प्रधानमन्त्रीले आत्तिएर भन्नुभयो, 'डाक्टर साप तपार्इंसँग दर्जी छन्।' त्यो वाक्य सुनेपछि मेरो मन हलुंगो भयो।


औपचारिक कार्यक्रमका लागि ग्रे कोट बनाउनु रहेछ। उहाँलाई उच्च सम्मानका साथ हैदरावाद हाउसमा राखिएको थियो। त्यहाँ पुगेपछि पनि उहाँको ध्यान दर्जीमै थियो। हामीले दौडादौड गरेर त्यही दिन कोट तयार गर्न सफल भयौं।

बदलिएको परिस्थितिमा मलाई राजदूतका रूपमा निरन्तरता दिँदा सरकारलाई अवगाल पर्ला भनेर प्रधानमन्त्रीसमक्ष निवेदन गरेँ। सन्त नेता भट्टराईले व्यवस्था फेरेर झन् राम्रो प्रणाली भित्याएको स्मरण गराउँदै इमानदारीपूर्वक काम गर्ने अनुभवी कर्मचारीको सेवा आवश्यक रहेको बताउनुभयो।

उहाँमा कुनै राजनीतिक प्रतिशोधको भावना देखिनँ। भट्टराई प्रधानमन्त्री भएपछि भारतसँग असाध्यै राम्रो सम्बन्ध भयो, सहअस्तित्वमा आधारित। भारतीय संस्थापन वर्षौंदेखि मधेसीको मुद्दामा चिन्ता व्यक्त गरिरहेको थियो।


भारतीय पक्षका त्यस्ता कतिपय चासो उहाँले हाँसोठट्टामै सल्टाइदिनुभयो। नेपाली सेनामा मधेसीको प्रवेशमा अघोषित रोक लगाइएको भन्ने धारणा भारतको थियो।
दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा केही पत्रकारले सरकारले किन भेदभाव गरेको भन्ने प्रश्न गरे। उहाँले उनीहरूलाई प्रतिप्रश्न गरेर अवाक् बनाइदिनुभयो। उहाँको जवाफ थियो, 'मधेसीलाई सेनामा कुनै रोक छैन। नलिएको भन्ने कुरा गलत हो। तर विचारणीय कुरा, भारतीय सेनामा पनि तपार्इंहरू छानीछानी नेपाली पहाडीयालाई नै लिइरहनुभएको छ। त्यसैले तपार्इंहरूको प्रश्नको राम्रो जवाफ यहाँहरूकै प्रधानमन्त्रीले दिन सक्नुहोला।'


गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनेबित्तिकै मलाई फिर्ता बोलाइयो। तीसवर्षे सेवा अवधिको हद लगाएर अवकास दिइयो।
महिलाको नाताले कुनै किसिमको भेदभाव, हेय वा वक्रदृष्टिको सिकार हुनुपरेन। हाकिम र अन्तर्गतका पुरुष कर्मचारीसँग सौहार्दपूर्ण कुटनीतिक सम्बन्ध रह्यो। काम, काम, काम भन्ने बानीले त्यो वातावरण सिर्जना गर्दोरहेछ।


चाकरी, चाप्लुसी भनसुनमा नलागी काममा लगन भयो भने अहिले प्रवेश गरेका बहिनीहरूले मेरोजस्तै मौका पाउनेछन्। मलाई सचिव बनाइएन। अवकास दिइयो। कूटनीतिमा पारंगत भएर क्षमता विकास गर्दै लगे अहिलेका बहिनीहरूले मेरो धोको पुरा गरिदिन सक्नेछन्।


कूटनीतिक सेवालाई जागिर ठान्नु हुँदै हुँदैन। दस बजे मन्त्रालय छिरेर पाँच बजे जागिर पकाउने बनी बस्यो भने न कूटनीति सफल हुन्छ न त कूटनीतिज्ञ।
लेख्ने, बोल्ने, पढ्ने काममा एक सय एक हुनुपर्छ। कपडा, खाना, संगत, रहनसहनमा ख्याल राख्नैपर्छ। परराष्ट्रको जागिर सिसाको महलमा बस्नुजस्तै हो। कसैले सानो निहुँ पाएपनि ढुंगा हालेर चकनाचुर बनाइहाल्छन्। समाजका आम मानिसले उपभोग गरिरहेको सबै अधिकार र स्वतन्त्रताबाट बञ्चित हुँदा पनि हाँसीहाँसी पचाइदिन सक्नुपर्छ।


मुल मन्त्र भनेकै जुन काममा खटिएको हुन्छ त्यहाँ जतिसक्यो धेरै सम्पर्क विस्तार गर्नैपर्छ। सूचना प्राप्त गर्ने, त्यसलाई विश्लेषण गर्ने अनि मुलुकको हितमा निर्णय गराउन सके जिम्मेवारी पूर्ण हुनेछ। अरू केही मिल्ला/नमिल्ला सन्तोष र आत्मसम्मान अवश्य पाइन्छ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु