Tuesday, September 14, 2010

बाल श्रमिकहरुको अवस्था दयनीय

_________________ डिआर ढकाल_________________
विराटनगर २९ भदौ÷ बालवालिकालाई श्रममा लगाउनु दण्डनीय भएपनि नेपाल भारत सीमा क्षेत्रमा चोरी तस्करी गर्नेहरुले उनीहरुलाई गैरकानुनी काम गराई रहेका छन् ।
पैसाको लोभमा पढ्ने उमेरका बालवालिका पढाई छोडेर त्यस्तो काममा लागेकोले उनीहरुको भविश्य चौपट एकातिर भइरहेको छ भने अर्कोतिर ती बालवालिकाको प्रयोग गरेर केही व्यक्तिहरु रातारात करोडपति बनिरहेका छन् ।
सीमा क्षेत्रबाट हुने अबैध सामान ओसारपसारमा बालवालिकाहरुको व्यापक प्रयोग भइरहेको भएपनि उनीहरुले पारिश्रमिक भने अत्यन्तै न्युन मात्र गरेका छन् । कम पारिश्रमिकमा प्रयोग गर्न सकिने र सुरक्षित पनि भएकोले व्यापारीहरुले सिमावर्ती क्षेत्रमा तस्करीमा बालवालिकाको प्रयोग गरेको पाईन्छ ।
विराटनगर २२ का १४ वर्षीय डोमा आलम केहि वर्षदेखि विराटनगर भन्सार क्षेत्र नजिकको चोर बाटो हुँदै सामान ओसारपसारमा प्रयोग हुँदै आएका छन् । आलम भारतीतर्फ सुपाडी अलैंची जस्ता सामान लाने र उताबाट इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकका सामान ल्याउने काम गर्दै आएका छन् ।
सानै उमेरमा भारी बोक्ने काम गरेका आलमको कारण व्यापारीहरुले राम्रो कमाई गरिरहेका छन् तर उनलाई भने खानलाउन पनि धौ-धौ नै रहेको छ ।
विराटनगर २२ कै १६ वर्षीय आकास मण्डल र १५ वर्षीय दिपु मलाहा पनि केरियरको रुपमा सिमावर्ती बजार जोगवनी र विराटनगरको रानी क्षेत्रमा तस्करहरुको सामान ओसारपसार गर्नेकाम गर्दै आएका छन् । उनीहरुले जोखिमयुक्त काम गरे पनि खानलाउन बाहेक केहि गर्न पनि नसकेको बताए ।
बालवालिकाहरुलाई प्रहरी र भन्सार कर्मचारीहरुले चेकजाँच नगर्ने भएको कारण अहिले जोगवनीबाट हुने अबैध कारोबारमा दैनिक करिब एक सय बालवालिकाहरु प्रयोग भइरहेका छन् ।
विराटनगर २१ मा घर भएका १३ वर्षीय आशिष घोष र विराटनगर ११ असोक चौकका १२ वर्षीय मो। आजिम विराटनगर १४ कलेज रोड स्थित बेनी मद्रासी मारुती ग्यारेजमा काम गर्दै आएका छन् । उनीहरु विहानदेखि बेलुकासम्म खाली पेट गाडीमुनि पसेर ज्यानकै पर्वाह नगरी काम गर्छन् तर ज्याला भने पाउँदैनन् ।
४÷५ महिना अगाडि विराटनगर ७ रामपुरकी हर्कमाया पराजुलीले विना पारिश्रमिक घरेलु कामदारको रुपमा राखेकी मोरङ लेटाङकी १० वर्षीया रोसनी थापालाई कुटपिट गरी घाईते बनाएकी थिईन् । भनेजती काम नगरेको भन्दै बालिकामाथि कुटपिट गर्ने पराजुलीलाई वाल क्लबको सहयोगमा प्रहरीले पक्राउ गरी एक दिन हिरासतमा राखेको थियो । कुटपिटवाट घाईते भएकी थापालाई उपचारपछि उनकै बुबा बोलाएर जिम्मा लगाईएको थियो ।
विराटनगरमा रहेका करिब ३ हजार बाल श्रमिकहरुको अवस्था माथि उल्लेखित भएकाहरुको जस्तै रहेको छ । मानवअधिकार तथा वातावरण माच फरेन का अनुसार विराटनगरमा २ हजार ७ सय ८१ जना बालवालिकाहरु बाल श्रमिकको रुपमा काम गरिरहेका छन् । त्यसमध्ये १ हजार ५ सय २१ जना बालिका रहेका छन् ।
श्रमको क्षेत्रका आधारमा सबैभन्दा बढी घरेलु कामदारको रुपमा १ हजार ३ सय ३२ जना कवाडी तथा प्लाष्टिक टिप्ने काम गर्ने ३ सय ५२ जना ज्यालादारीमा काम गर्ने २ सय ३५ जना उद्योगमा २ सय ३० जना र होटल तथा रेष्टुरेन्टमा ६२ जना बाल श्रमिक कम गरिरहेको फरेनको अध्ययनले देखाएको छ । यस बाहेक ग्यारेज सिमावर्ती क्षेत्रमा केरियरको रुपमा लगायतका काममा करिब ५ सयको संख्यामा बाल श्रमिक रहेका छन् ।
आठ वर्ष अगाडि विराटनगरमा करिब १२ हजार बाल श्रमिकहरु रहेकोमा अहिले त्यो संख्या घटेको छ । विराटनगर उपमहानगरपालिकाले सन् २०१५ सम्म वालमैत्री नगर बनाउने योजनाका साथ काम अगाडि बढाइरहेको अवस्थामा बाल श्रमिकको संख्यामा कमी आउनु सकारात्मक भएको नगरपालिका सामाजिक महाशाखाका प्रमुख तारानाथ निरौलाले बताउनु भयो ।
अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तेजलाल कर्णले बाल श्रमिकको जोखिम न्युनिकरण गर्न सरकारले प्रभाबकारी काम नगरेको बताउनु भयो । सरकारले १० वर्षे कार्ययोजनाको ५ वर्षे अबधीमा संख्यात्मक रुपमा बाल श्रमिक घटेको भएपनि जोखिम भने कम नभएको उहाँको भनाई छ ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु