Monday, August 2, 2010


बनेपा, साउन १८-भारतीय योगगुरु रामदेव अध्यक्ष रहेको पतञ्जली योगपीठले सरकारी सुबिधामा किनेको सयौं रोपनी जग्गा व्यक्तिलाई बेचेको छ। मन्त्रिपरिषद्बाट हदबन्दी नलाग्ने निर्णय गराएर पतञ्जलीले काभ्रेका विभिन्न स्थानमा गत वर्ष किनेको ८ सय १० रोपनी जग्गामध्ये महेन्द्रज्योति र नासिकास्थान साँगा गाविसको २ सय ४३ रोपनी जग्गा बेचेको हो।

पतञ्जलीले उक्त स्थानमा करिब ३ सय रोपनी जग्गा किनेको थियो।


नाफा नकमाउने कम्पनीका रूपमा तीन वर्षअघि कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता पतञ्जली नेपालले आयुर्वेद शिक्षण अस्पताल, योगकेन्द्र, वृद्धाश्रम, बालआश्रम, जडीबुटी अनुसन्धान केन्द्र र योगस्कुल खोल्न हदबन्दीभन्दा बढी जग्गा किन्न स्वीकृति मागेको थियो। मन्त्रिपरिषद्ले सर्तसहित पतञ्जलीलाई काभ्रेलगायत ९ जिल्लामा हदबन्दीभन्दा बढी जग्गा किन्न स्वीकृति दिएको थियो।

मन्त्रिपरिषदको निर्णयमा 'जुन प्रयोजनका लागि जग्गा खरिद गरिएको हो, सोही प्रयोजनमा मात्र प्रयोग गर्न र खरीद गरिएको जग्गा बेचबिखन गर्न नपाउने गरी पतञ्जली योगपीठ तथा आयुर्वेद नेपाललाई स्वीकृति दिइएको' उल्लेख छ।

सरकारले पतञ्जलीलाई दाङमा ७५ बिघा, लमजुङमा ३ सय रोपनी, काठमाडौं उपत्यकामा १ सय ५० रोपनी, स्याङ्जामा २ सय ५० रोपनी, काभ्रेमा ८ सय १५ रोपनी, चितवनमा १५ बिघा, धनुषामा २५ बिघा र बारा-पर्सामा ४० बिघा जग्गा किन्न स्वीकृति दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न दिन सरकारसँग सिफारिस गरेको थियो। तराईमा ११ बिघा, काठमाडौंमा ५० रोपनी र पहाडमा ८५ रोपनीसम्म जग्गा खरिद गर्दा हदबन्दी नलाग्ने प्रावधान छ।

बेच्न नपाउने गरी हदबन्दीभन्दा बढी जग्गा किन्न दिने आफ्नै निर्णय एक महिनामै उल्ट्याउँदै सरकारले पतञ्जलीलाई बिक्रीको छुट दिएको थियो। स्वामी रामदेव नेपाल भ्रमणमा आएका बेला भएको निर्णयमा 'बिक्री भएको जग्गाबाट प्राप्त रकमले सोही प्रयोजनका लागि ५ वर्षभित्र अन्यत्र जग्गा किन्नुपर्ने' उल्लेख छ। सरकारको पछिल्लो निर्णयमा टेकेर पतञ्जलीले व्यक्तिलाई जग्गा बेचेको हो। जग्गा बेच्ने क्रममा पतञ्जलीका नेपाल सञ्चालक शालिग्राम सिंहले काभ्रे मालपोत कार्यालयमा वर्षैपिच्छे जग्गा किनेको प्रतिवेदन पेस गर्ने सर्तनामा गरेका छन्।


सिंहले साँगामा जग्गा अपुग भएकाले बेचेको दाबी गरे। 'आश्रम बसेमा सस्तोमा जग्गा दिने वाचा स्थानीयले गरेका थिए तर पतञ्जलीले जग्गा किनेको थाहा पाएपछि जग्गा दलालहरूले पतञ्जलीको जग्गालाई चारैतिर घरेर, बीचबीचमा जग्गा किनेर, ठूलो रकम मागेर अप्ठ्यारो पारेकाले बेच्न बाध्य भएका हौं,' सिंहले नागरिकसँग भने।


साँगामा योजनाअनुरूप काम गर्न अप्ठ्यारो देखिएकाले धुलिखेलमा २ सय रोपनी जग्गा किनेर योगग्राम बनाएको उनले बताए। काभ्रेकै अर्को स्थानमा रहेको जग्गा नबेचेको र नयाँ जग्गा किनेर आयुर्वेद अस्पताल बनाउने योजना रहेको उनले जानकारी दिए।


पतञ्जलीले चितवनका जीवनराज कँडेललाई ३ रोपनी १४ आना जग्गा ६५ लाख, कामनपा-७ का धुर्वराज थापालाई ५१ रोपनी ९० लाख, लमजुङका भोजराज शर्मा वाग्लेलाई ६४ रोपनी ८० लाख, काभ्रे, कानपुर-८ का वीरेन्द्रलाल श्रेष्ठलाई १० रोपनी १३ लाख, लमजुङका ओमप्रकाश वंशललाई ४८ रोपनी ८० लाख, झापा तोपगाझीकी मनु घिमिरेलाई ६१ रोपनी ६० लाख र कामनपा-६ का लक्ष्मण कार्कीलाई ७ रोपनी जग्गा १४ लाखमा बेचेको छ। बिक्री भएका अधिकांश जग्गा हिटीचोक सदावर्त गुठीका नाममा छ।
'बिक्री भएका जग्गाको वास्तविक मूल्य निक्कै बढी छ। राजस्व थोरै तिर्न कम रकम देखाएर पास गरिएको हो,' नासिकास्थान साँगा गाविसका दलीय संयन्त्र प्रतिनिधि श्याम जोशीले दाबी गरे। गाविसबाट तोकिएको दस्तुर तिरी सिफारिस लिएर जग्गा किनबेच गर्ने नियम भए पनि पतञ्जलीले वेवास्ता गरेको जोशीले बताए। 'गाविसको आम्दानी पनि गुम्यो, गाउँ राम्रो होला भनेर सस्तोमा जग्गा दियौं। पतञ्जलीले व्यापार पो गर्‍यो,' उनले भने।

नासिकास्थान साँगा गाविस- ६ कार्कीगाउँ र डिबडोलका बासिन्दाले पतञ्जलीलाई ७० हजारदेखि १ लाख ५ हजार रुपैयाँ रोपनीमा जग्गा बेचेका थिए। रामदेवको योगकेन्द्र खुल्ने, हरेक घरलाई गाई पाल्न दिने, जडीबुडी खेतीमा संलग्न गराउने भनेकाले ज्यादै कम मूल्यमा गाउँलेले जग्गा बेचेको स्थानीय शिवहरि कार्कीले बताए। 'पतञ्जलीले जग्गा अरुलाई नै बेच्ने थाहा पाएका भए गाउँलेले दिने थिएनन् होला,' उनले भने।

काभ्रेमा पतञ्जलीले महेन्द्रज्योति, नासिकास्थान साँगा र चलाल गणेशस्थानमा जग्गा किनेको थियो। उसले चलाल गणेशस्थान गाविस- ५ र ९ मा किनेको जग्गा भने बेचेको छैन।

पतञ्जलीबाट फरक-फरक व्यक्तिले जग्गा किनेको भए पनि नासिकास्थान साँगा गाविस कार्यालयमा काठमाडौं बिजनेस होम्स प्रालिले उक्त स्थानमा ८ सय घर बनाउने प्रस्ताव पेस गरेको छ।

'हाउजिङ कम्पनी सम्पर्कमा आइसक्यो। अध्ययनका लागि दलीय संयन्त्रका प्रतिनिधिलाई प्रस्ताव पठाएको छु,' गाविस सचिव राजनकुमार आचार्यले भने।

पतञ्जलीले जग्गा बेचेलगत्तै नासिकास्थान साँगा-६ मा दर्जनभन्दा बढी स्काभेटरले माटो काट्न थालेको छ। अरनिको राजमार्गबाट दुई किलोमिटर उकालो चढ्दा पुगिने उक्त स्थानबाट हिमाल देखिने भएकाले व्यवसायी तिर्थ काफ्लेलगायतको समूहले आवासक्षेत्र बनाउन लागेको गाउँलेले बताए। केहीअघि गाउँकै लटरम्मेश्वर मन्दिरमा लगाएको महापुराणमा १२ लाख रुपैयाँ दान गर्ने वचन दिएपछि गाउँलेहरू काफ्लेलाई आदर देखाउन थालेका छन्। अहिले जग्गा सम्याउने क्रममा सरकारी पर्ती जग्गासमेत अतिक्रमण भएकाले गाविस दलीय संयन्त्रले कारबाहीको कुरा निकाल्दा स्थानीयवासी काफ्लेविरुद्ध बोल्दैनन्। 'यो कार्कीगाउँ र डिबडोलका वासिन्दाको सरोकारको कुरा हो। गाविस किन बोल्ने?' गाउँलेहरू उल्टै जग्गा कारोबारीको पक्ष लिन्छन्। पतञ्जलीले बेचेको जग्गामा पूर्वाधार बनाउने क्रममा हाउजिङ कम्पनीले १ सय २२ रोपनी सरकारी जग्गा अतिक्रमण गरेको छ।

गाविस सर्वदलीय संयन्त्रले अतिक्रमण रोक्न र हाउजिङ कम्पनीलाई बोलाइदिन अनुरोध गर्दा जिल्ला प्रशासनले गाविसमै मिलाउनू भनेर फिर्ता पठाइदियो।

'सर्वदलीय निर्णय गरेर डाक्दा त नआउने व्यवसायीहरू गाविसले बोलाउँदा किन आउँथे?' संयन्त्र प्रतिनिधि जोशीले भने। व्यक्तिले ठाडो उजुरी हाल्दा प्रहरी लगाएर उपस्थित गराउने प्रशासनले सर्वदलीय निर्णयलाई वेवास्ता गरेको जोशीले बताए। 'सरकारी जग्गा संरक्षण गर्ने प्रमुख दायित्व त प्रशासनको हो,' उनले भने।

सहायक प्रजिअ शिवराम गेलालले भने गाविसले सरकारी पर्ती जग्गा छुट्याइदिनु पर्‍यो भनेर अनुरोध गरे नापीका प्राविधिक पठाउन सकिने बताए। 'हामीले कारबाही नगर्न खोजेका हैनौं। गाविस सचिव र सर्वदलीय संयन्त्र मिलेर समाधान खोजून् भन्न खोजेको हो। अतिक्रमण गर्ने कम्पनी र व्यक्तिलाई झिकाएर छलफल गराउँदा समस्या हल हुने भए झिकाउन सकिन्छ,' उनले भने।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु