Saturday, August 7, 2010

न्युयोर्कमा नेपालीहरु 'सेभ द हिमालय' अभियान जुट्दै


श्रावण २२ - भूतापमा बढ्दै गएका कारण हिमालका हीउ पग्लिंदै गएपछि न्युयोर्कमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिहरुको सक्रियतामा 'सेभ द हिमालय' अभियान सुरु गरिएको छ । अभियान सगरमाथा आरोही पत्रकार आङछिरिङ शेर्पाको संयोजकत्वमा अभियान सुरु भएको हो ।

उक्त अभियान अर्न्तगत पोष्टर, पर्चा टास्ने र विश्व सामु ध्यानकर्षण गर्ने कार्यक्रम तय गरिएको छ । 'यो अभियान हामी सिमित नेपाली समुदायलाई मात्र लक्षित गरेको अभियान होइन, आम नेपाली नागरिकको हैसियतले विश्वलाई ध्यानकर्षण गर्ने मुख्य उदेश्य छ' अभियानका सहसंयोजक टेक गुरुङले भने, 'अमेरिका जस्तो मुलुकमा हामीले सुरु गरेको यो अभियानलाई सफल पार्न नेपाली समुदायलगायत स्थानीय नेपाली सञ्चारमाध्यामले पनि उतिकै सहयोग गरेमा मात्र फलदयी हुन्छ ।'

नेपाली समुदायको तर्फबाट यो अभियान सफल पार्नका लागि अहिलेसम्म तीन पटक बैठक बसिसकेको छ । दोश्रो चरणको बैठकले न्युयोर्कमा क्रियाशील विभिन्न पेशामा आबद्ध नेपाली समुदायका व्यक्तिहरुको इच्छा अनुसार समितिहरु गठन गरेको थियो । तेस्रो बैठकले जनचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको हो ।

थकाली किचेन रेष्टुरेन्टमा भएको बैठकमा आगामी सेप्टेम्बर २१ तारिखको दिन संयुक्त राष्ट्र संघको भवन अघि जनचेतनामुलक र्‍याली कार्यक्रम गर्ने भएको छ । राष्ट्रसंघको साधारण सभामा उपस्थित हुन विश्वका राष्ट्र प्रमुखहरुको आगमान हुने उक्त अवसरमा दुइ देखि ४ घण्टासम्म र्‍याली गर्नुका साथै साँस्कृतिक झाँकी, सम्बोधन, पर्चा वितरणलगायतका काम गरिने अभियानका अर्का सहसंयोजक डा. विनोद शाहले बताए ।

'ग्लोबल वार्मिङको कारणले भइरहेको यो समस्याको कारण अहिले हामी वातवारण पीडित भएका छौं' प्राध्यापक डा. तारा निरौलाले भने, 'हिमालयको रुपमा चिनिने हाम्रो देशको तर्फबाट हामी सवै नेपाली यो अभियानमा जुटन पर्छ । यो हामी सवैको साझा कर्तव्य पनि हो' ।

अभियानलाई नेपाल सरकारको तर्फबाट सस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय र न्युयोर्कको नेपाल मिसनले समेत सहयोग गर्ने वचन दिएको छ ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु