Saturday, August 7, 2010

अस्पतालमै कुरुवाको आत्महत्या


पोखरा, साउन २३ - बाग्लुङ, तंग्राम-९ की चित्रकुमारी पुनको दुवै मृगौलाले काम गरेको थिएन।उनका पति तुलबहादुर हप्तैपिच्छे पोखराको मणिपाल शिक्षण अस्पताल ल्याएर मृगौलाको डाइलोसिस गराउँथे। पत्नीसहित चार दिनअघि डाइलोसिसका लागि आएका पुनले शनिबार बिहान १० बजे अस्पतालको तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेपछि साढे दुई वर्षयताको क्रमभंग भएको छ।
५२ वर्षे पुनले गरिबी र हैरानीका कारण अस्पतालमै आत्महत्या गरेको आफन्तको अनुमान छ। गरिबीकै कारण उनले सातामा दुईपटक गर्नुपर्ने डाइलोसिस एकपटक मात्रै गराउँदै आएका थिए।
लामो समयदेखि हप्तैपिच्छे उपचारमा धाउनुपर्ने, महँगो शुल्क खर्चनुपर्ने र स्वास्थ्यमा सुधार पनि नआएकाले निरास भएको हुनसक्ने उनका दाजु परवीरले बताए।

अस्पतालका अनुसार एकपटक डाइलोसिस गराउँदा पुनले २ हजार ५ सय रुपैयाँ तिर्दै आएका थिए। यसबाहेक हरेक साता पोखरा-बाग्लुङ गर्नुपर्ने र ३/४ दिन अस्पतालै बस्नुपर्ने भएकाले १२ लाख रुपैयाँ खर्च भइसकेको थियो।
मृतकका भान्जा रुद्र श्रीषका अनुसार पुनका एक छोरा इराकमा छन् भने अर्का छोरा गाउँमै बस्छन्। यसपटक उनले विवाहित छोरी ज्योतिलाई पनि सँगै लिएर आएका थिए।
लडाइँका क्रममा ३/४ वटा गोली छातीमा लागेपछि पुनले १२ वर्षअघि भारतीय सेनाबाट अवकाश पाएका थिए। उनको छातीमा अझै एउटा गोली बाँकी थियो। 'त्यो गोलीको पीडा भुल्न भाइ सधैं रक्सी पिउँथ्यो,' उनले भने, 'रक्सी पिए पनि नराम्रो बानीब्यहोरा भने थिएन।'
अस्पतालका एक कुरुवाले झ्यालबाट हाम फालेको सुनेलगत्तै चित्रकुमारीले पतिको खोजी गरिरहेकी छन्। आफन्तले औषधीको बिल तिर्न गएको, खाना खान गएको, शौचालय गएको बहाना बनाए पनि पति घन्टौंसम्म नर्फिकएपछि उनको छटपटी बढेको छ।
घटनालगत्तै उनले छोरीलाई कसले हाम फालेको रहेछ हेरेर आउन अह्राएकी थिइन्। त्यसपछि रुँदै दौडिएकी छोरी आमानजिक परेकी छैनन्। अस्पतालको भुइँतलामा छोरी ज्योतिलाई सम्हाल्न आफन्तलाई मुस्किल छ। पति र छोरी नजिक नपर्नु र अरु आफन्त मात्र आफ्नो नजिक आएपछि ४८ वर्षीया चित्रकुमारीलाई घटनाको आभास भइसकेको पुनका भान्जा श्रीषले बताए।
'आफ्नो उपचारका बेला कहिल्यै नदेखिने आफन्तलाई अस्पतालमा देखेपछि उनमा शंका पसिकेको छ,' उनले भने, 'तर गम्भीर स्वास्थ्य अवस्थाले गर्दा हामीले मुटुमा गाँठो पारेर ढाकछोप गरिरहेका छौं।'
आफन्तले पुनको शवलाई शनिबारै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टम गरी अन्तिम संस्कारका लागि बाग्लुङ लगेका छन्। चित्रकुमारीलाई पनि दाहसंस्कारमा सामेल गराउन अस्पतालसँग आग्रह गरिने जेठाजु पुनले बताए।
'छुट्टै गाडीमा लगेर बाग्लुङ पुगेपछि मात्र घटनाबारे भन्नु पर्ला,' उनले भने, 'यो खबर सुन्नेबित्तिकै बुहारीलाई पनि जेसुकै हुन सक्छ, त्यसैले अप्ठ्यारोमा परेका छौं।'
नियमित डाइलोसिस गराउँदै आएकी पुनको अवस्था डिस्चार्ज गर्न सकिने खालको नरहेको अस्पतालले बताएको छ। अस्पतालकी डा. सिर्जना प्रधानांगले तत्काल घर लैजाने कुरामा पुनर्विचार गर्न आफन्तलाई सल्लाह दिएकी थिइन्।


No comments:

Post a Comment

अवलोकन कर्ताहरु