Tuesday, August 10, 2010

उम्मेदवारी फिर्ता लिन एमालेले अल्टिमेटम दिने


श्रावण २५ - सत्तासमीकरणमा निर्णायक मानिएको एमालेले प्रधानमन्त्रीका प्रत्यासी माओवादीका पुष्पकमल दाहाल र कांग्रेसका रामचन्द्र पौडेललाई तीन दिनभित्र उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिने तयारी गरेको छ ।

प्रधानमन्त्री निर्वाचनमा पार्टीभित्र देखिएको मतभेद सुल्झाउने प्रयत्नमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ भएको शीर्ष नेताहरुको बैठकले दुबै प्रधानमन्त्रीका प्रत्यासीलाई उम्मेदवारी फिर्ता लिई नयाँ शिराबाट सहमति खोज्न पहल गर्ने बारे छलफल गरेको छ । यस बिषयमा केन्द्रीय कमिटी बैठकमा बुधबार औपचारिक छलफल हुने छ । बैठकमा ब्यवस्थापिका संसदमा जारी प्रक्रियाले प्रधानमन्त्रीको चयन नहुने भन्दै नयाँ रणनीतिबारे छलफल भएको एक नेताले जानकारी दिए ।

बुधबार सुरु हुने केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा शीर्ष नेतावीच जारी छलफलले आगामी भदौ २ गते हुने निर्वाचनमा बिगतमा तटस्थ बस्दै आएको एमालेलाई नैतिक दबाब पर्ने देखिएको छ । सहभागी एक नेताका अनुसार, प्रधानमन्त्रीका प्रत्यासीलाई उमेदवारी फिर्ता लिन दिएको ३ दिने अल्टिमेटम कार्यान्वयन नभए पुनः अर्को बैठक बसी ठोस निर्णय गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रधानमन्त्री मतदानको समीक्षा तथा भावी रणनीति तय गर्न बुधबारका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकमा चर्को मतभेद हुने भएकाले बैठकमा मध्यमार्गी विकल्पको खोजी गर्न प्रयत्न गरिने एक केन्द्रीय सदस्यले बताए ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु