
श्रावण २० - भारत सरकारको विशेष दूतका रुपमा नेपाल आएका पूर्व विदेश सचिव श्याम शरणले बिहीबार बिहानै देखि राजनीतिक भेटघाटलाई तिब्रता दिएका छन् । उनले प्रमुख तीन दलका शीर्ष नेताहरुलाई भेटेका छन् ।
प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा गरेको एक महिना बितिसक्दा पनि नयाँ सरकार बनाउन दलहरू असफल भएको अवस्थामा भारत सरकारले शरणलाई विशेष दूतका रुपमा नेपाल पठाएको हो । बुधबार अपरान्ह यहाँ आइपुगेका उनले साँझ साढे ६ बजे राष्ट्रपति रामवरण यादवलाई भेटी उच्च राजनीतिक भेटवार्ता सुरु गरेका थिए ।
बिहीबार बिहान उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल,काँग्रेस कार्यवाहक सभापति सुशिल कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसंग छुट्टा-छुट्टै भेटवार्ता गरेका छन् । शरणसंगै नेपालका लागि भारतीय राजदूत राकेश सुदपनि भेटवार्तामा सहभागी छन् ।
भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेषदूत शरणले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा आफ्नो भ्रमण सरकार निर्माणमा केन्द्रीत नरहेको बताए । उनले शान्ति, स्थिरता, नयाँ संविधान र राष्ट्रिय सहमतिको निर्माण गर्नु आफ्नो चासो भएको बताए ।
'नेपालमा शान्ति, स्थिरता, नयाँ संविधान र राष्ट्रिय सहमति निर्माण होस भन्नेमा प्रयास रहन्छ । हाम्रो अन्य कुनै चासो छैन्' भेटमा दाहालसँगै रहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले श्यामशरणको भनाइ उद्धृत गर्दै भने, 'सरकार निर्माणमा हस्तक्षेप र कुनै दृष्टिकोण छैन् ।'
माओवादी नेतृत्वले शान्ति प्रकृया, लडाकु समायोजन, संविधान निर्माण र लोकतन्त्रबारे आफ्नो धारणा राखेको थियो ।
'शान्ति प्रकृयालाई सेना समायोजन सहित टुंगोमा पुर्याउने तथा संविधान निर्माणप्रतिको हाम्रो धारणा राख्यौ' श्रेष्ठले भने, 'लोकतन्त्रका सबै आधारभूत मूल्य, मान्यता सहित बहुदलीय प्रतिष्पर्धाबारेको पार्टीको मान्यता राख्यौ । ति सबै बिषयमा टेकेर नयाँ राजनीतिक मुलधार स्थापना गर्ने कुरा राख्यौ ।' माओवादी र भारतबीचको सम्बन्धका विषयमा पनि दुई पक्षबीच कुरा भएको थियो । श्रेष्ठले दुई पक्षले खुला र स्पष्ट कुरा राखेको बताए ।
माओवादी नेतृत्वसंगको भेटपछि शरण कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालालाई भेट्न उनको महाराजगंज निवास पुगेका थिए । भेटमा सहभागी उपसभापति रामचन्द्र पौडेलले शान्ति,लोकतन्त्रको र अहिलेका राजनीतिक गतिरोध हटाउने बारे काँग्रेसले लिएको अडानबारे छलफल भएको जानकारी दिए । उनले भने-'हाम्रो अडानमा उहाँहरु पनि असहमत हुनुहुन्न ।'
एमाले अध्यक्ष झलनाथ खनाललाई भेट्न शरण खनालको डल्लु स्थित निवास पुगेका थिए । शान्ति प्रक्रिया,संविधान निर्माण र राजनीतिक गतिरोध हटाउने विषयमा भएका प्रयास बारे दुई पक्षबीच छलफल भएको बुझिएको छ ।
यसअघि काठमाडौं आएलगत्तै नेपाल मामिलाका विशेष जानकार शरणले बुधबार साँझै मधेसी नेताहरूसँग भारतीय दूतावासभित्रै रात्रिभोज बैठक गरेका थिए। शरणले राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापासँग पनि बुधबारै भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीका लागि शुक्रबार चौथो पटकको निर्वाचन तोकिएको अवस्थामा त्यस बेलासम्ममा सहमति कायम गराउने उनले प्रयास गर्ने बुझिएको छ ।
No comments:
Post a Comment