Sunday, August 1, 2010

तारे होटलमा थप ५० करोड लगानी


साउन १६- पर्यटक आगमनमा भएको आशालाग्दो सुधार र १० लाख पर्यटक ल्याउने सरकारी अभियान 'नेपाल पर्यटन वर्ष २०११' लक्ष्य गरी व्यवसायीले होटलमा सेवा र सुविधा विस्तार गर्न वृहत लगानी गरेका छन्। तारे होटलहरूमा करिब ५० करोड रूपैयाँ थप लगानी भएको सम्बद्ध व्यवसायी बताउँछन्। पर्यटकलाई नयाँ आकर्षण दिन र प्रतिस्पर्धामा उत्रिन थप लगानी गरिएको व्यवसायीले बताए।
गत ६ महिनामा हवाई मार्ग हुँदै नेपाल घुम्न आएका पर्यटक १८ प्रतिशतले प्रतिशतले बढेका छन्। उक्त अवधिमा १ लाख ९६ हजार ३ सय १९ पर्यटक आएका थिए। अघिल्लो वर्ष सोही अवधिमा १ लाख ६६ हजार ३ सय आएका थिए।

होटल एसोसिएसन नेपाल (हान) को तथ्यांकअनुसार नेपालको होटल उद्योगमा हालसम्म १ खर्ब ५० अर्ब रूपैयाँ लगानी भएको छ। त्यसमा १ खर्ब निजी क्षेत्रको र ५० अर्ब बैंक ऋण हो।

तारे होटलमा बस्न आउने पर्यटकलाई लबीबाट कोठाभित्र प्रवेश गरेसम्म आन्तरिक सजावटमा नयाँपन दिन होटलले ठूलो रकम खर्च गरेका हुन्। आन्तरिक सजावट परिवर्तन गरेपछि पर्यटकले 'फ्रेसनेस' पाउने दाबी व्यवसायीको छ।

'पर्यटन बजारको मागअनुसार प्रतिस्पर्धामा खरो उत्रिन होटलको आन्तरिक सजावट परिवर्तन गरिरहेका छौं,' पाँचतारे होटल डेल अन्नपूर्णका प्रमुख सञ्चालन अधिकृत दोर्जी शेर्पाले शनिबार नागरिकसँग भने, 'यसका लागि काम धमाधम भइरहेको छ।'

१ सय ६० मध्ये १ सय ५० बिक्रीयोग्य कोठा रहेको अन्नपूर्णले ती कोठामा उडन पार्केट र नयाँ कार्पेट हालिरहेको शेर्पाले बताए। कार्पेट
सबै थाइल्यान्डबाट ल्याइने उनले बताए। 'बाथरुमदेखि बेडरुमसम्म सबै परिवर्तन गछर्ौं,' उनले भने, 'आगामी दुई महिनापछि ब्यांक्वेट हल परिवर्तन गरी त्यसमाथि फिटनेस क्लब बनाउँछौं।'

होटलले तीन रेस्टुरेन्ट र एक बारलाई पनि पूर्णरूपमा परिवर्तन गर्ने भएको छ। सबै कोठामा ३२ इन्चका डिजिटल टेलिभिजन राखिनेछ। आन्तरिक सजावटमा नयाँपन दिन करिब २० करोड रुपैयाँ खर्च गरिने होटल स्रोतले जानकारी दियो।

अर्को पाँचतारे सोल्टीले 'प्रिन्सेप विङ' का १ सय ९ कोठाको आन्तरिक सजावट परिवर्तन गरिरहेको छ। 'यी कोठाका काम एक महिनाभित्र सकिन्छ,' होटल स्रोतले भन्यो, 'यसका लागि १२ करोड रुपैयाँ खर्च गरेका छौं।'

२ सय ८३ कोठा रहेको सोल्टीले ब्यांक्वेट हल र लबी नयाँ अवधारणा अनुसार पूर्णरूपमा परिवर्तन गर्न लागेको हो। सबै कोठामा फ्लोर, बाथरुम, पर्दा, बेडिङ लगायत परिवर्तन गरिने स्रोतले जानकारी दियो।

'कोठाबाट कार्पेट हटाएर उडन पार्केट राख्छौं,' स्रोतले भन्यो, 'बत्ती, टेलिभिजन सेट, पर्दा, तन्ना, बाथरूमका सावर, ऐनालगायत सामान परिवर्तन गर्छौं।' सोल्टीको लेखा परीक्षण हुन बाँकी प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०६६/०६७ मा कर कट्टीपछि करिब ११ करोड रूपैयाँ नाफा गरेको छ।

अर्को पाँचतारे याक एन्ड यतीले २ सय ७० कोठामध्ये दरबार विङका १ सय ५० को आन्तरिक सजावट परिवर्तन गरिरहेको छ। 'सबैको आन्तरिक सजावटमा नयाँपन दिइरहेका छौं,' होटलका महाप्रबन्धक प्रल्हादराज कुँवरले भने, 'नेवारी विङका १ सय २० कोठालाई पनि परिवर्तन गर्ने योजना छ।'

उनका अनुसार सजावट फेरिएका कोठामा ३७ इन्चको र २८ सुइटमा ४० इन्चको एलसिडी टेलिभिजन राखिनेछ। कोठाका मिनिबार परिवर्तन गरिनेछ। कार्पेट परिवर्तन हुनेछ। 'प्रतिस्पर्धामा बस्नलाई पनि यो काम गर्न लागेका हौं,' उनले भने। होटल स्रोतका अनुसार सजावट परिवर्तन गर्न करिब ६ करोड रुपैयाँ खर्च गरिनेछ।

नगरकोटस्थित डिलक्स रिसोर्ट क्लब हिमालयले नयाँ ३० कोठा थपिरहेको अध्यक्ष योगेन्द्र शाक्यले जानकारी दिए। 'कोठा थप्न ८ करोड रुपैयाँ खर्च गर्‍यौं,' उनले भने, 'अब ७५ कोठा पुग्छ।'

पाँचतारे एभरेस्टले थप पर्यटक आकर्षित गर्न कोठाहरूको आन्तरिक सजावट परिवर्तन अन्तिम चरणमा पुर्‍याएको छ। कोठाका बाथरुम, बिजुली बत्ति, भुइँ, पर्दालगायत परिवर्तन गरिरहेको होटलका कार्यकारी सहायक प्रबन्धक जिपी अर्यालले बताए।

होटलले १ सय ६० मध्ये ४० कोठामा नयाँपन दिइरहेको उनले बताए। कोठामा पार्केट, पर्दा, बत्ति नयाँ र बाथरुम सुविधासम्पन्न बनाइएको उनले जानकारी दिए। दुई सम्मेलन कक्ष पनि थपिएको छ। खानामा ३० प्रतिशत र कोठामा ४० प्रतिशत भाउ बढाएको फुड एन्ड बेभरेज म्यानेजर दिपेश केसीले जानकारी दिए।

'एक दशक लामो आन्तरिक द्वन्द्वमा होटलले केही परिवर्तन गर्न नसकेपछि अहिले परिवर्तन गर्न लागेका हुन्,' हानका महासचिव श्यामसुन्दरलाल कक्षपतिले भने, 'प्रतिस्पर्धा गरिरहन, पर्यटक आकर्षित गर्न र अन्तर्राष्ट्रिय मापदण्डमा बसिरहन यस्तो काम गर्न जरूरी छ। यसले सकारात्मक
सन्देश जान्छ।'

चितवन कुरिनटारस्थित रिभर साइड स्प्रिङ रिसोर्टका अध्यक्ष समेत रहेका कक्षपतिले रिभर साइडमा २८ नयाँ कोठा थपेर ५० बनाइएको जानकारी दिए। 'यसका लागि २ करोड रुपैयाँ खर्च गर्‍यौं,' उनले भने।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु