Monday, July 12, 2010

अनमिनको प्रस्तावमा सरकारको आपत्ति

अषाढ २९ - माओवादी लडाकु पुनःस्थापना र समायोजनको समयतालिका प्रस्ताव गरेकोमा आपत्ति जनाउँदै सरकारले नेपालका लागि राष्ट्रसंघीय मिसन (अनमिन) लाई पत्र पठाएको छ ।

सरकारले शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत प्रस्तावप्रति आपत्ति प्रकट गर्दै सोमबार अनमिन प्रमुख करिन लनग्रेनलाई पत्र पठाएको हो । अनमिनले माओवादी लडाकु समायोजन र पुनःस्थापनाका लागि तयार पारी विशेष समिति सदस्यलाई दिएको ६० साताको अनौपचारिक अवधारणापत्र शुक्रबार कान्तिपुरमा प्रकाशित भएको थियो ।

'कान्तिपुर र दि काठमान्डु पोस्ट दैनिकमा अनमिनको प्रस्ताव भनी माओवादी सेनाका लडाकुको समायोजन र पुनःस्थापनाबारे प्रकाशित कार्यतालिकाबारे ध्यानाकर्षण गराउँछौं,' शान्ति मन्त्रालयका सहसचिव विष्णुप्रसाद नेपालका नाममा अनमिनलाई प्रेषित पत्रमा छ ।

अन्तरिम संविधानको धारा १४६ बमोजिम माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनाका लागि विशेष समिति गठन भएको र उसले यस विषयमा काम गरिरहेकोप्रति अनमिन जानकार रहेको पत्रमा उल्लेख छ । 'यो विषय पूर्णतः विशेष समितिको क्षेत्राधिकारभित्र रहेको तपाईंलाई जानकारी छँदै छ । विशेष समितिमा विचाराधीन यस विषयमा अनमिनको हवाला दिँदै छापिएको समाचारप्रति हामी गम्भीर छौं,' अनमिनले समाचार प्रकाशित गराएको दाबी गर्दै लनग्रेनलाई लेखेको पत्रमा भनिएको छ, 'लडाकु समायोजन र पुनःस्थापनाबारे ६० साताको समयतालिका प्रकाशित भएकामा समेत हाम्रो चासो छ । राष्ट्रिय मुद्दाका रूपमा यस विषयमा छलफल भइरहेकै बेला अनमिनले यस्तो समाचार प्रकाशित गराउनु आपत्तिजनक छ ।'

शान्तिमन्त्री रकम चेम्जोङले लडाकु समायोजनजस्तो गम्भीर विषयमा आफ्नो कार्यादेशबाहिर गएकोमा अनमिनलाई पत्र लेखेर सचेत गराइएको बताए । कामचलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालालगायत नेताले अनमिनप्रति आपत्ति जनाइसकेका छन् ।

अनमिनले भने यथोचित समयमा सरकारको पत्रको जवाफ दिने प्रवक्ता कसमस विश्वकर्माले जनाए । 'लडाकु समायोजन र पुनःस्थापनाको कार्यतालिका बनाउन सहयोग पुगोस् भनेर विशेष समितिका सदस्यलाई ननपेपरका रूपमा त्यो सन्दर्भ सामग्री दिएका हौं,' प्रवक्ता विश्वकर्माले भने, 'यसमा हाम्रो उद्देश्य जतिसक्दो चाँडो शान्ति प्रक्रिया टुंग्याएर अनमिनको सहज बहिर्गमनका लागि वातावरण बनाउनु हो ।'

No comments:

Post a Comment

अवलोकन कर्ताहरु