३२ असार, बाग्लुङ । बाग्लुङको देवीस्थान गाविस-८ मा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । घरमा सुतिरहेको बेला शुक्रबार विहान माथिबाट खसेको पहिरोले पुरिएर १६ बर्षीय शिव विक, १२ बर्षीया शान्ति विक र ८ बर्षीय गोरे विकको मृत्यु भएको हो ।
घटनामा ४५ बर्षीया खगी विक, २५ बर्षीया होमी विक, २२ बर्षीय मनिष बिक, २ बर्षीय कृष्ण विक र २ वर्षकै शुशीला विक घाईते हुनु भएको छ । घाईतेमध्ये खगी विकको अवस्था गम्भीर छ । घाईतेहरुलाई नजिकैको बुर्तिवाङ् बजारमा उपचारको लागि ल्याइएको छ ।
घरमुलि कुवेर घर बाहिर रहेकाले उहाँ भने सकुशल हुनुहुन्छ । घटनास्थल वाग्लुङ् सदरमुकामदेखि ३० कोष टाढा पर्दछ ।
पहिरोले विद्यालय भवन
यसैबीच भारी वर्षासँगै आएको पहिरोले रुकुमको दुई विद्यालय भवन क्ष्तिग्रस्त भएका छन् । पश्चिम रुकुमको झूला गाविस स्थित वडा नं. ५ मा रहेको वालसेवा निम्न माद्यमिक विद्यालयको २ कोठे भवनलाई पहिरोले बगाएको हो । एक महिना अघि मात्र विश्व खाद्य कार्यक्रमको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले सो भवन निर्माण गरिदिएको थियो । पहिरोले भवन भत्किएपछि विद्यालयको पठनपाठन अवरुद्ध भएको शिक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।
त्यसैगरी सोही गाविसको भानुभक्त माद्यमिक विद्यालय गारावाङ्गमा रहेको दुई कोठे भवन पनि पहिरोले बगाएको छ । शुक्रवार विहान एक सय मिटर माथिबाट आएको पहिरोले गर्दा सो भवन बगेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खम्वु जैसीले जानकारी दिनु भएको छ ।
पहिरोका कारण अन्य दुई भवन पनि पहिरोको खतरामा परेका छन् ।
No comments:
Post a Comment