Tuesday, July 20, 2010

दाहाल, पौडेल र खनालले दिए उम्मेदवारी / मधेसी दलले उम्मेदवारी दिएनन्


श्रावण ४ - बहुमतीयभित्रैबाट सहमति खोज्ने बताएका मुख्य तीन दलले अन्ततः बुधबार हुने प्रधानमन्त्री निर्वाचनका लागि छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् ।

मंगलबार संसद् सचिवालयमा पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराएका हुन् । माओवादीले दाहाल र एमालेले खनाललाई उम्मेदवार उठाउने निर्णय अन्तिम समयमा गरेका हुन् ।

माओवादी अध्यक्ष दाहालले दर्ता गराएको मनोनयपत्रको प्रस्तावकमा उपाध्यक्ष बाबुराम भट्टराई र समर्थकमा अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन् ।

यसैगरी कांग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा शेरबहादुर देउवा र समर्थकमा केवी गुरुङ छन् । पौडेललाई उम्मेदार बनाउने निर्णय कांग्रेसले तीन दिन अघि नै गरेको थियो ।

यसैगरी एमाले अध्यक्ष झलनाथ खनालले पनि उम्मेदवारी दर्ता गराएका छन् । खनालको प्रस्तावक प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र समर्थक संसदीय दलका उपनेता विष्णु पौडेल छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उम्मेदवारी फिर्ता पनि नलिने र अन्य दललाई नसघाउने सर्तमा उम्मेदवार बनाइएको हो । एमाले अध्यक्ष खनाललाई भने दुई तिहाइ मत ल्याउने सर्तमा उम्मेदवार बनाइएको हो । दुई तिहाइ नभए उम्मेदवारी फिर्ता लिने निर्णय भएको एमाले सचिव शंकर पोखरेलले जानकारी दिए ।

मधेसी मोर्चाले उम्मेदवारी दिएन

मधेसवादी दलहरुको मोर्चाले प्रधानमन्त्री पदमा उम्मेदवारी दिएन । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदारले मोर्चाले उम्मेदवारी नदिने बरु शान्ति, संविधान र मधेसका मुद्दालाई अगाडि बढाउन सक्नेलाई समर्थनका लागि छलफल अघि बढाउने बताए ।

मोर्चामा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टी छन् ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु