क्रान्तिको बाँझो फोर्न
जुवामा नारिएका गोरुहरू
धौ भएको छ, हलो तान्न, विचारको
दायाँवायाँ काँध मर्काउँदै
हलो तान्नैपर्छ क्रान्तिको ।
दिनभरी हलो तानेर लखतरान गोरुहरू
विचारको बलियो दाम्लोले कसिएका छन्
टाट्नोमा घाँस छैन पेटभरी खानका लागि
हम्प र झम्प छ सधैं पेट भर्न
अर्कोले खाइदिन्छ कि भनेर
जोदाहा माले फाँफू गर्छ उता फर्केर
तारे पनि के कम छर
कहिले त सिरै जोरेर जुध्न खोज्छन्
दाम्लो विचारको, किलो सिद्धान्तको
उखेल्छन् कि झैं गर्छन
तंगि्रएका गोरुहरू ।
क्रान्तिको जुवामा नारिएर
पट्टने बाँझो फोर्नुछ, चैतको धुपमा पनि
सुख छैन, फुर्सद छैन चैनको सास फेर्न
गोरु झैं चुटिएको छ, छाला काढ्ने गरी
लखेटिएको छ नौडाँडा काट्ने गरी
तर पनि हलो तान्नैपर्ने सँगै नारिएर
विचरा गोरुहरू
एक्काइसौं शताब्दीका
पीडित मानिसहरू ।
हलो, फाली र करुवा फेरिए पनि
उही बुढो हलिले लखेटेपछि
उही काठे हलोले जोतेपछि
आँत छिचोलिन्न खेतको
वाली मौलाउँदैन क्रान्तिको
फलामे हलो आइसके छ युगको
ट्याक्टर र टिलरहरू बनेछन् विज्ञानको
तर पनि
टुटेन हलो तान्न परम्पराको
फेर्न अनुहार संसारको ।
यसपाला लामै खडेरी परेछ
शैली, संस्कार र संस्कृतिको
रंगीचंगी फूलहरू परिवर्तनका
शालिन सौम्य र विनम्रताका
सपनाको संसारमा
वसन्तका सबै कोपिलाहरू
ओइलाउँछन् कि भन्ने चिन्ता बोकेर
सुख्खा पराल र भुसको भरमा
हलो तान्नै परेछ विचरा
मेला हिँडेका गोरुहरू ।
परम्पराको पोखरीमा
डुबुल्की मारेर परिवर्तनको
सपना साँचे पनि
युगले नेटो काटिसकेपछि
समयले पछि छोडे पछि
बाँझो छिचोलिन्न क्रान्तिको
मौसम परिवर्तनशील छ
युग र संसार पनि
परिवर्तनको सम्वाहक बनेर
विचार, व्यवहार र शैली बदलिएन भने
आखिर
बुढो साँढेले रुघेंको कोरलीको
गर्भादान हुन सक्दैन क्रान्तिको ।
जोत्नेकाम
युगौंदेखि चलेको छ
चल्दै जाने छ
परम्पराको हलो
खनी जोती कुनाकाप्चा
उर्बर बनाउन धरती
किसान सर्वहारा
लगातार रगत पसिनाले धरती सिंचेर
लटरम्म वाली फलाउने सपना साँचेर
नयाँ उपायको खोजी गर्दैछ
नयाँ आविस्कारको पारख गर्दैछ
युग सापेक्ष हलो फेर्न
युद्धका सिपाहीहरू
नारिएका गोरुहरू
एकैछिन सिंग जधाए पनि
फेरि पनि मिलेर जुवामा
लुरुलुरु हलो तान्नैपर्छ क्रान्तिको ।
औंसी पूर्णेका दिन
चौरमा छाडिएका गोरुहरू
सिंगौरी खेल्दै काल्लोमा
डुक्रेर जोरी खोजे पनि
तारे र चौरेहरू
गोठमा फर्केपछि
उही किलो
उही दाम्लो
उही खान्की बिहान बुलुकीको
क्रान्तिका हल गोरुहरूको ।
सधैं गोरु बन्ने होइन
एक दिन
आउँदै छ गोरुको उन्मुक्तिको
मुक्ति हुँदै छ सबै हली र गोठालाको
यो समयको माग हो
यो परिवर्तनको नियम हो ।
No comments:
Post a Comment