अषाढ २९ - उपराष्ट्रपति परमानन्द झाले मधेसी समुदायप्रति राज्य पूर्वाग्रही रहेको आरोप लगाएका छन् । विगतमा भन्दा भेदभाव घटे पनि विभेदकारी नीति विद्यमान रहेको उनले बताए । सहिद रघुनाथ ठाकुरको ३० औं स्मृति दिवसका अवसरमा स्वतन्त्र मधेसी नागरिक समाज नेपालले आयोजना गरेको अन्तक्रिर्यामा उपराष्ट्रपति झाले मधेसीमाथि राज्यको नीति विभेदकारी रहेको आरोप लगाएका हुन् ।
रघुनाथ ठाकुरले मधेसी अधिकारको पक्षमा पहिलोपटक आवाज उठाएकोमा राज्यले उनलाई सम्मान दिन कञ्जुस्याइँ गरेको उनको गुनासो थियो ।
राज्यका निकायमा जनसंख्याको अनुपातमा मधेसी समुदायको प्रतिनिधित्व कम रहेको उल्लेख गर्दै उनले यसलाई 'विभेदकारी नीतिको परिणाम' को संज्ञा दिए । यो मुद्दालाई सरकारले नै अनुचित मान्ने गरेको भन्दै उनले असन्तुष्टि जनाए । 'के यो माग उचित छैन ?' उनले प्रश्न गरे, 'यो सवाललाई सरकारले अनुचित मान्छ भने सरकारले नै अनुचित हो भन्न किन नसक्ने ?'
मधेसी र अन्य सीमान्तकृत वर्गले अबको संविधानमा आफ्नो अधिकार सुनिश्चित गर्न हातेमालो गर्नुपर्ने उनको सुझाव थियो । सबै पिछडिएका र सीमान्तकृत वर्ग एकजुट नभए अधिकार सुनिश्चित गर्न गाह्रो हुने उनले बताए ।
कार्यक्रममा एमाले सभासद् गोपाल ठाकुरले मधेसी अधिकारको सबालमा आवाज उठाउने पहिलो व्यक्ति रघुनाथ ठाकुर रहेको बताए ।
No comments:
Post a Comment