Sunday, July 11, 2010

प्रथम महिला उपसभामुख लिला श्रेष्ठको निधन


अषाढ २७ - नेपालको पहिलो महिला उपसभामुख लिला श्रेष्ठ सुव्वाको ६३ बर्षको उमेरमा आइतबार विहान सात बजे धरान-७ स्थित आफ्नै घरमा निधन भएको छ । ताप्लेजुङ्को सिगैचा-९ साम्मागु पाँचपले मा विसं २००४ सालमा अमर बहादुर मेन्याङ्बो र सुकमति आङ्देम्बेको छोरीको रुपमा जन्मेकी सुव्वा लामो समय देखि दमको रोगबाट पीडित थिइन ।

नेपाली कम्यूनिष्ट आन्दोलनमा विद्यार्थी कालदेखि नै अग्रणी भूमिका खेल्दै आएकी सुव्वाले २०५१ सालको आम चुनावमा सुनसरी क्षेत्र नं १ बाट विजयी भए पछि ०५५ साल सम्म पहिलो महिला उपसभामुख भएर आफ्नो कार्यक्षमता देखाएकी थिइन ।

०३६ साले देखि कम्यूनिष्ट राजनितिमा प्रबेश गरे पनि नेकपा माले हुदै नेकपा एमाले सम्म आइपुग्दा उनी केन्द्रीय सल्लाहकार, एमाले कोशी अंचल कमिटी सदस्य, अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य रहेकी थिइन ।

विभिन्न दुई दर्जन बढी सामाजिक संघ संस्थामा समेत सकृय सुव्वा विगत पाँच बर्ष देखि दम रोगबाट पिडित भए पनि आर्थिक अभावले प्रभाकारी उपचार गर्न सकेकी थिइनन ।

त्रिभुवन विश्वविद्यालयबाट राजनितिशास्त्रमा स्नातकोत्तर सुव्वाले 'फोकल्याण्ड' कथा संग्रह प्रकासित गरेकी छन् । उनले दर्जनौं प्रगतिवादी कथा, कविता र निवन्धहरु लेखेर महिलाहरुको पक्षमा वकालत गर्दै आएकी थिइन । चार दशक अगाडि नै धरानका ध्रुवकुमार श्रेष्ठ संग अन्तरजातीय विवाह गरे पनि उनीहरु निसन्तान रहेका छन् ।

नेकपा एमालेले सुव्वाको शवलाई पार्टीको झण्डा ओढाएर आइतबार अपरान्ह २ बजे सम्म भानुचोकमा श्रदाञ्जलीका लागि राख्ने भएको छ भने त्यसपछि खत्रीबम दाहसस्कार स्थलमा लैजाने भएको छ ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु